जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १७:५४

सत्ता गठबन्धनले पैसाको खोला बगायो : पृथ्वीसुब्बा गुरुङ


पोखरा, जेठ ११ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिकामा जित्न कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाउनु भएको छ ।

पोखराको उपमेयरमा एमालेबाट विजयी मञ्जु गुरुङसहितका जनप्रतिनिधिलाई बधाई दिन बुधबार आयोजित सभालाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘पोखराको मेयर गुमाउँदा हामीलाई ठूलो पीडा भएको छ। तर हामीले उपमेयर जितेका छौँ । एकीकृत समाजवादीलाई निषेध गरेर अस्तित्व संकटमा पारेका थियौँ। पोखरामा उनीहरुले शीर उठाउन पाए,’ एमाले प्रचार बिभाग प्रमुख समेत रहनुभएका उपमहासचिव गुरुङले भन्नुभयो ।

उपमहासचिव गुरुङले पोखराको मेयर हार्दा पनि पार्टीको शान जोगाउन सकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पराजित भएका छौँ, पीडित छौँ तर हारमा आत्तिने काम गर्न सक्दैनौँ । ३३ वडामध्ये ३० जित्न सक्छौँ भन्ने थियो। तर त्यसो भएन।’

उपमहासचिव गुरुङ भन्नुहुन्छ, ‘सत्तागठबन्धनले व्यापक राज्यसत्ताको दुरुपयोग गर्‍यो। पोखरामै पैसाको अत्यधिक खोलो बगाएर निर्वाचन परिणाम उल्ट्याउने काम गर्‍यो। तर राज्यशक्तिको दुरुपयोगका बावजदु उपमेयरमा मञ्जुले जित्नुभयो, नगरसभा र कार्यपालिकामा पनि बहुमत पाएका छौँ।’