जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १२:३५

७ सय ४९ पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ? (सूचीसहित)


काठमाडौं, जेठ १२ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । आजसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७ सय ४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार नेपाली कांग्रेसले ३ सय २७ प्रमुख र ३ सय १ उपप्रमुख जितेर सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले रहेको छ । एमालेले २ सय ५ पालिका प्रमुख र २ सय ३७ उपप्रमुख जितेको छ । यस्तै १ सय २१ प्रमुख र १ सय २६ उपप्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो दलको रहेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहेको छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानका साथ साना दलका रुपमा उभिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४–४ पालिकामा प्रमुख पद जितेका छन भने सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १–१ पालिकामा प्रमुख पद जितेका छन ।

यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन्। अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ । जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने निश्चित भइसकेको छ ।

लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । सो पालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन ।