जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १४:१५

ओलीको प्रश्न : प्रधानमन्त्रीज्यू ! नेपाल एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?


काठमाडौं, जेठ १२ । नेकपा एमालेले अमेरिकी उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविरभित्र गएकोप्रति संसदमा प्रश्न उठाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविर ‘गुम्बा’को भ्रमण गरेको लगायत परराष्ट्र नीतिका विपरित गरेका कार्यप्रति आपत्ति जनाउनु भएको हो ।

बिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफ्नै देशभित्र पनि आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको तर बिदेसीलाई सहजै गुम्बा भ्रमण गराएको बताउनु भयो । ‘विदेशी मन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’ प्रधानमन्त्री शेरबहादुर देउवालाई ओलीको प्रश्न थियो ।

उहाँले सरकारलाई छिमेकी सन्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न पनि गर्नुभयो । ‘कति लाचारी ? सत्ता कति प्यारो ? बात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’ ओलीले भन्नुभयो, ‘गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर । अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ?’

एमाले अध्यक्ष ओलीले बर्तमान सरकारलाई अस्थायी, म्यादी सरकारको संज्ञा पनि दिनुभयो । उहाँले परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको तर्फ पनि ध्यानाकर्षण गराउनु भयो । नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उहाँले छद्म नीति नलिन सुझाउनु भएको छ ।
‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’

साथै उनले सत्ता गठबन्धन सरकारले कन्फरटेबल हुनेबाहेक अन्य केही गर्न नसकेको टिप्पणी गरे । यो सरकारले परराष्ट्र नीतिलाई कमजोर बनाउँदै गएको आरोप लगाए ।