जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ००:००

सशस्त्र प्रहरीमा ज्वाँई आतंक : बढुवामा नपर्ने भएपछि गृह मन्त्रालयको सूचना नै पारियो गायब


काठमाडौं, जेठ १२ । सशस्त्र प्रहरी बलमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा रोकिएको छ । नातामा प्रधानमन्त्री शेरबहादुर देउवाका ज्वाँई पर्ने कामु एसएसपी दिपेन्द्र कुँवरको कारण बढुवा नै रोकिएको छ । सशस्त्रमा बढुवाका लागि गृह मन्त्रालयले सूचना नै प्रकाशित गरेको भए पनि कुँवरका कारण रोकिएको हो ।

गृह मन्त्रालयले सोमबार राति सूचना जारी गर्दै बढुवा प्रयोजनका लागि आवेदन माग गरेको थियो । तर, अन्तिममा उक्त सूचना मन्त्रालयको वेबसाइटबाटै हटाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको दबावमा बढुवा रोकिएको सशस्त्र मुख्यालय स्रोतले बताएको छ । सशस्त्र प्रहरीको बलका प्रशासन विभाग प्रमुख नारायणदत्त पौडेलले उक्त सूचना जारी गर्नुभएको थियो । तर एकाएक उक्त सूचना गायब भएपछि सशस्त्र मुख्यालयमा हल्लाखल्ला भएको हो । बढुवा प्रक्रिया रोकिएसंगै सशस्त्रका उच्च अधिकारीहरुले असन्तुष्ट बनेका छन ।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाले बढुवा रोक्न निर्देशन दिनुभएको स्रोतको भनाई छ । कामु एसएसपी कुँवर प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाकै सहोदर बहिनी ज्वाँई हुनुहुन्छ । बरिष्ठ अधिकारीहरुले संगठनमा राजनीतिक हस्तक्षेप धेरै भयो, एउटा व्यक्तिलाई हेरेर नियम कानुन परिवर्तन गर्ने र संगठनका अधिकृतहरुको वृतिविकासमा असर गर्ने काम राम्रो नभएको बताएका छन । त्यसो त देउवा सत्तामा आएदेखि नै सशस्त्रमा कुँवर हावि भएका छन ।

हेर्नोस प्रकाशन गरेको र गायव पारिएको यी दुई सूचना

सशस्त्रमा अहिले चार डिआईजी र २७ जना एसएसपीहरुको दरबन्दी रिक्त छ । तिमध्ये रिक्त एसएसपी पदमा सिसम १ र २ का अधिकृतहरु कामु एसएसपीमा बढुवा भइसकेका छन । सशस्त्र प्रहरीको नियमावलीमा एसपीबाट एसएसपी हुन चार वर्ष पुगेको हुनुपर्ने नियम छ । उक्त नियमअनुसार सिसम १ का कामु एसएसपीहरुको चार वर्ष वैशाख २६ मै पुगिसकेको छ । तर, उनिहरुलाई बढुवा गर्न सशस्त्र प्रहरी बलको नेतृत्वले सकेको छैन ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवाका लागि प्रक्रिया अघि बढाए पनि गृह नेतृत्वले त्यसमा रुची देखाएको छैन । गृहले सिसम २ का अहिले ११ नम्बरमा रहेका कामु एसएसपी दिपेन्द्र कुँवरको चार वर्ष नपुगेकाले बढुवा गर्न यो खेल भएको हो । कुंवर डिएसपी हुँदा ७० नम्बरमा हुनुहुन्थ्यो । तर, उहाँलाई सिसम १ संगै बढुवा गर्नको लागि नियम संशोधनको खेल भएको थियो ।

यसअघि सशस्त्रमा एसएसपी पद रिक्त हुँदा पनि एसपीद्वय उद्धव न्यौपाने र दीपेन्द्र कुँवरलाई बढुवा गर्न लामो समय बढुवा नै रोक्ने काम भएको थियो । उद्धव तत्कालिन गृहसचिव महेश्वर न्यौपानेका भाई हुनुहुन्छ । तत्कालिन सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले उहाँलाई बढुवा गर्नको लागि नियमावली संशोधन गरेर तीन वर्ष बनाउन खोजे पनि अर्थ मन्त्रालयमा गएर रोकिएको छ ।

कामुबाट कन्फर्म हुने लाइनमा रहेका एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह,दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत हुनुहुन्छ । कुँवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट, दिगविजय सुवेदी, विश्व भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत र माधव प्रसाद पौडेललगायत हुनुहुन्छ ।