जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १६:५३

कांग्रेसभन्दा एमालेकै बढी भोट : कुन पार्टीको कति ? (सूचीसहित)


काठमाडौं, जेठ १२ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा बढी सिट जिते पनि नेपाली कांग्रेस जनमतमा नेकपा एमालेभन्दा पछाडि परेको छ । निर्वाचन आयोगले चार पालिकाको मतगणनाको परिणाम सार्वजनिक गर्नुअघिसम्म कांग्रेसले एमाले भन्दा झण्डै एक लाख मत कम ल्याएको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धन बनाएर एमालेबिरुद्ध चुनावमा गएकोले कांग्रेसले पालिका प्रमुखमा भने एमाले भन्दा १ सय २२ सिट बढी जितेको छ भने उपप्रमुखमा ६४ सिट बढी जितेको छ । तर लोकप्रिय मतमा एमाले बरावर आउन नसकेको हो । बिगतको तुलनामा बढी भोट ल्याउनेमा पनि कांग्रेस एमालेभन्दा पछाडि नै परेको छ । निर्वाचन आयोगका अनुसार यसपटकको चुनावमा एमालेले ३८ लाख १ हजार ३ सय ४७ मत पाएको छ । यस्तै कांग्रेसले ३७ लाख २४ हजार ८ सय ९ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १३ लाख ३७ हजार १ सय ६३ मत पाएको छ ।

यसअनुसार यसपटक पनि एमालेले कांग्रेसभन्दा ७६ हजार ५ सय ३८ भोट बढी ल्याएको छ भने माओवादी भन्दा एमालेको २४ लाख ६४ हजार १ सय ८४ भोट बढी आएको छ । यसपटकको चुनावमा एमालेले गत २०७४ सालको संसदीय निर्वाचनमा भन्दा ६ लाख २७ हजार ८ सय ५३ भोट बढाएको छ । यस्तै कांग्रेसले ५ लाख ९६ हजार ४ सय २० भोट र माओवादीले ३३ हजार ४ सय ४२ भोट बढाएको छ । गत निर्वाचनयता भोट बढाउनेमा पनि एमाले नै पहिलो बनेको हो ।

यस्तै एमालेबाट अलग भई बनेको नेकपा एकीकृत समाजवादीले ४ लाख ३७ हजार ८ सय ३५ मत पाएको छ । नेकपा एसले आफ्नो संगठित सदस्य नै ११ लाख कटाएको दावी गरिरहेको बेला मत भने यत्ति मात्रै पाएको हो । यस्तै जनता समाजवादी पार्टीले ५ लाख ५२ हजार ५ सय ८५ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ लाख २६ हजार ८ सय ६७ मत पाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ४२ हजार ७ सय ८२ मत पाएको छ ।

कस्को कति भोट ?

एमाले : ३८,०१,३४७
कांग्रेस : ३७,२४,८०९
माओवादी : १३,३७,१६३
जसपा : ५,५२,५८५
नेकपा एस : ४,३७,८३५
राप्रपा : ३,४२,७८२
लोसपा : २,२६,८६७

यो तथ्यांकले पपुलर मतमा एमाले घटेको होइन, बढेको देखिन्छ । एमालेले २०७४ सालमा समानुपातिकतर्फ प्राप्त मत ३१ लाख ७३ हजार ४ सय ९४ थियो । यसरी हेर्दा एमालेको मत २०७४ सालको प्रतिनिधिसभाको तुलनामा ६ लाख १३ हजार १ सय ५६ मत बढेको देखिन्छ । २०७४ को प्रतिनिधिसभामा एमालेले प्राप्त गरेको समानुपातिक मतको तुलनामा यो १९.३२ प्रतिशतले बढी हो ।

प्रतिनिधिसभाको २०७४ सालको निर्वाचनको भन्दा अहिले १५.९ प्रतिशतले मतदाता बढेका छन । निर्वाचन आयोगको ‘निर्वाचन परिणाम पुस्तक २०७४’ को तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचन २०७४ मा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ रहेको थियो । सो निर्वाचनमा ६८.६७ प्रतिशत अर्थात् १ करोड ५ लाख ९३ हजार ९ सय ७१ मत खसेको थियो । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको थियो । जसमध्ये यो निर्वाचनमा जम्मा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यसलाई आधार मान्दा अहिलेको स्थानीय तह निर्वाचनमा कूल खसेको मत संख्या १ करोड १३ लाख ४९ हजार ५ सय ८२ हुन आउँछ । यो भनेको खसेको मतको वृद्धि प्रतिशत ७.१३ हो अर्थात २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भन्दा ७ लाख ५५ हजार ६ सय ११ बढी मत अहिले खस्यो । २०७४ को तुलनामा मतदाताको संख्या १४.९५ प्रतिशत अर्थात् २३ लाख ५ हजार ७८५ ले वृद्धि भए पनि ६४ प्रतिशत मतदाताले मात्रै भोट हाल्दा खसेको भोटको वृद्धिदर थोरै भएको हो ।

यसरी दुई निर्वाचनमा खसेको मतको तुलना गर्दा एमालेको मत भने १९.३२ प्रतिशतले बढेको छ । यसमा खसेको मतको वृद्धिदर ७.१३ प्रतिशत घटाउँदा एमालेको मत १२.१९ प्रतिशतले वृद्धि भएको छ ।