जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १८:२०

संसदमा केपी ओलीको दमदार सम्बोधन, गठबन्धन सरकार र कांग्रेस इमानमा चुकेको तथ्यसहित यसरी गरे चिरफार


काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको बेइमानी र ज्याद्धतीको शल्यक्रिया गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले मुलुकलाई गम्भीर आर्थिक संकट हुँदै असफलतातर्फ धकेल्ने प्रयाशदेखि बिदेसी सम्बन्धबारे पनि कडा प्रश्न उठाउनु भएको छ ।

संसदमा अध्यक्ष ओलीले अहिलेसम्मकै लामो सम्बोधन गर्नुभयो । उहाँले २ घण्टा ५५ मिनेटसम्म प्रतिनिधि सभामा सरकारको गलत कामको चिरफार गर्नुभएको हो । सदनमा यति लामो भाषण बिरलै सुन्न पाइन्छ । संसद बैठकमा यसअघि टनकपुर सन्धीको बेला एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले ३ घण्टा बोल्नुभएको थियो । भण्डारीपछि ओली नै पहिलो बक्ता हुनुहुन्छ ।

आफ्नो सम्बोधनको क्रममा ओलीले सरकारको नीति तथा कार्यक्रम उल्लेखित बुँदा–बुँदाको व्याख्या गर्दै अस्पष्ट र भ्रमपूर्ण विषयमा सरकारसँग जवाफ माग गर्नुभयो । सरकारको नीति तथा कार्यक्रमको कुनै गन्तव्य नभएको भन्दै उहाँले यो उद्देश्यहीन रहेको बताउनुभयो ।

सरकारले आफ्नो भूमिलाई आफ्नो भन्न नसकेको, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्न नसकेको, नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा खलल पुर्याउने काम गरेको ओलीले बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्रीबाट जवाफ माग्नुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै आलोचना गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘महत्वपूर्ण कुरा के देखिन्छ भने ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ । शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ?’ आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राखेको स्मरण गर्दै ओलीले अहिलेको सरकारबाट जवाफ माग्नुभयो ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो को कि होइन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौं । सदनले चाहन्छ, प्रतिपक्षले चाहन्छ, नेपाली जनताले चाहन्छ,’ ओलीले भन्नुभयो, ‘नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न केही पनि सक्नुहुन्न, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न, भूमिको रक्षा गर्न सक्नुहुन्न, अखण्डताको रक्षा गर्न सक्नुहुन्न, आफ्नो भूमिलाई आफ्नो भूमि भन्न सक्नुहुन्न अनि के हो सरकारको नेतृत्व भनेको ? नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ? भौगोलिक अखण्डताको जिम्मेवारी प्रतिपक्षको जिम्मा हो ? सरकारले केही गर्नु पर्दैन ? जवाफ चाहिन्छ ।’

सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि नबढेको तथ्य पनि ओलीको औल्याउनु भयो । सरकारले मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने भनेको तर व्यवहारमा कोल्टे देखिएको यथार्थ पनि ओलीले उजागर गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमको कुनै गन्तव्य नभएको भन्दै उहाँले अस्थिरता सृजना गर्नका लागि बनेको गठबन्धनले अस्थिरताका लागि जारी गरेको घोषणापत्र जस्तो भएको दृष्टान्त पनि पेश गर्नुभएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ? नेपाल एक चीन नीतिमा छ कि छैन ? अमेरिकी उपविदेशमन्त्रीलाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन ? इजाजत दिएको हो भने किन दिएको भन्नुपर्दैन ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले जवाफ माग गर्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको, मतदातालाई धम्की र पैसाको प्रलोभन दिएको, स्थानीय चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको पनि बताउनुभयो । सरकारको निति तथा कार्यक्रममा गन्तव्यबिहीन र जनता अल्मल्याउने कुरा मात्र रहेको उहाँको भनाइ थियो ।

कांग्रेससँग देश बनाउने कुनै नीति नभएको पनि उहाँले बताउनुभयो । एमालेले ल्याएका कार्यक्रमको विरोध गरेर एमाले सरकार ढाल्ने र एमालेकै कार्यक्रम समेटेर नीति तथा कार्यक्रम तयार पार्नु लज्जाजनक विषय भएको पनि उहाँले बताउनुभयो । एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा नीति तथा कार्यक्रबाट हटाइएको भन्दै उहाँले त्यो नारा पूरा गर्ने हुती गठबन्धन सरकारसँग नरहेको ठोकुवा गर्नुभयो ।

एमालेले ल्याएका नीति तथा कार्यक्रम हटाउन समेत उहाँले सरकारलाई चुनौती दिनुभयो । सरकारले नीति तथा कार्यक्रमकै बुँदा भ्रष्टाचारलाई प्रवर्धनन गर्नेछौं भन्ने वाक्य राखेको भन्दै ओलीले कडा आपत्ति जनाउनुभयो । नीति तथा कार्यक्रम नै स्पष्ट रुपमा ल्याउन नसक्ने सरकारसँग कुनै अपेक्षा गर्न नसकिने पनि उहाँले बताउनुभयो । केही मानिसले स्थानीय तह चुनावको नतिजालाई तुलना गरेर एमाले पत्तासाफ भयो भन्ने भ्रम फैलाएका भन्दै उहाँले एमालेको केही सिट गुमेको तर जनतमता हिसाबमा अहिले पनि पहिलो रहेको प्रष्ट पार्नुभयो ।

नीति तथा कार्यक्रम करिब सबै बुँदाको व्याख्या गर्दै उहाँले सरकारसँग जवाफ माग्नुभयो । उहाँले सरकारले बजेटमार्फत मुलुकलाई आर्थिक संकटमा पार्ने प्रष्ट दृष्य देखिएको भन्दै यस आशंकालाई गलत सावित गरिदिन चुनौती दिनुभयो । यस्तै उहाँले आफूमाथि लाञ्छना लगाउनेहरुले आफू जस्तै सवै चल अचल सम्पत्ति सरकारको नाममा गर्न सक्छन भन्दै चुनौती दिनुभयो । नीति कार्यक्रममार्फत कांग्रेसले आफ्नो पहिचान पनि गुमाएको ओलीले बताउनु भयो ।