जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १८:०१

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, यस्तो छ प्रदेशगत सूची


काठमाडौं, जेठ १३ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्म १४ हजार ४ सय ७ जना महिला उम्मेदवार विजयी भएका छन । निर्वाचन आयोगका अनुसार यो संख्या कूल विजयी उम्मेदवारमध्ये महिलाको ४१.२१ प्रतिशत हो ।

हालसम्म देशभर पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३४ हजार ९५३ जना उम्मेदवार विजयी बनिसकेका छन । अब २६८ जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन ३५ हजार २२१ जनप्रतिनिधिको लागि भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार नेपाली कांग्रेसबाट ५ हजार ५ सय ४८, नेकपा एमालेबाट ५ हजार २६, नेकपा माओवादी केन्द्रबाट २ हजार ७९, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट ६४३, नेकपा एकीकृत समाजवादीबाट ४०६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११६ र राष्ट्रिय जनमोर्चाबाट ६४ जना महिला उम्मेदवार विजयी बनेका छन । बाँकी विजयी हुने महिलाहरु अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु छन ।

निर्वाचन आयोगका अनुसार प्रदेशक १ बाट २ हजार ४ सय ५५, मधेस प्रदेशबाट २ हजार ७ सय ७०, बागमति प्रदेशबाट २ हजार ३ सय ४७, गण्डकी प्रदेशबाट १ हजार ६ सय २२, लुम्बिनी प्रदेशमा २ हजार १ सय २४, कर्णाली प्रदेशमा १ हजार ५ सय २४ र सुदूरपश्चिम प्रदेशममा १ हजार ५ सय ६० जना महिला उम्मेदवार विजयी बनेका छन ।