जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १९:१४

भक्तपुरको सूर्यबिनायकमा पनि अवदेखि मेलम्चीको खानेपानी, परीक्षण भयो सफल


भक्तपृुर, १३ जेठ । भक्तपुरमा मेलम्ची खानेपानी आयोजनाको परिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आज नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले संयुक्त रुपमा खानेपानी परिक्षणको शुभारम्भ गर्नुभएको हो ।

एमालेले यस आयोजनाको लागि गरेको विशेष योजना सफलता हासिल गर्दै एमालेका विरुद्धमा कांग्रेस, माओवादी तथा नेपाल मजदुर किसान पार्टीले गरेको विभिन्न आरोप तथा गलत प्रचारलाई चिर्दै सफल परिक्षण गरिएको हो । आयोजनाको पानी कटुञ्जे पाण्डूबजार खानेपानीको ट्याङ्कीबाट आज सूर्यविनायक नगरपालिका भित्र मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याई सकेका क्षेत्रहरु आदर्श, पाण्डूबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी राधेराधे पुलसम्मका करिब २५ सय घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको छ ।

त्यस्तै भक्तपुर नगरपालिका क्षेत्रका करिव पाँच हजार धाराहरुमा समेत परिक्षणका लागि पानी वितरण गरिएको छ । सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट, सिरुटारलगायतका क्षेत्रहरुमा मेलम्ची खानेपानीको डिपीआर अघिल्लो आर्थिक वर्षमै सम्पन्न भैसकेकाले तत्काल मेलम्ची खानेपानीको पाइपलाई विस्तार गरी साविक पुरानै खानेपानीका ट्याङकीहरुमा मेलम्चीको खानेपानी खसाली समग्र सूर्यविनायक भित्र रहेका खानेपानीको समस्या सधैंको लागि अन्त्य हुने दावी गरिएको छ ।

२० लाखको पुरानो ट्याङ्की र ६० लाखको नयाँ ट्याङ्की गरी ८० लाख लिटरको दुई वटा ट्याङ्की रहेको छ । उक्त दुवै ट्याङ्की करिव तीन घण्टामा भरिने आयोजनाका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिनुभयो । मेलम्चीको खानेपानीको सफलतापूर्वक परिक्षण सम्पन्न भएसँगै आगामी दिनमा भक्तपुर जिल्ला भरका सम्पूर्ण नागरिकले खानेपानीको समस्या अन्त्य हुने दावी गरिएको छ ।

जनताको माग अनुसार पानी वितरण गर्न सकिने आयोजना प्रमुख ऐरले बताउनुभयो । मेलम्चीको खानेपानी भक्तपुरमा पहिलो चरणमा नै ल्याउन आफूले ठूलो संघर्ष गरेको भन्दै सांसद बस्नेतले एमालेले गरेको कामलाई कांग्रेस तथा नेपाल मजदुर किसान पार्टीले जनतामा भ्रम छरिरहेको बताउनुभयो । आयोजनाको लागि जग्गा अधिकरण र पाईप विस्तारको सम्पूणं कार्यहरु एमालेको नेतृत्वमा भएको भक्तपुरवासीलाई जानकारी गराउँदै पालिका क्षेत्रमा निर्माण भएका खानेपानी ट्याङ्कीमा मेलम्चीको पानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजनाले पनि सूर्यविनायकवासीको उक्त मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै आवश्यक प्रकृयाको लागि सहयोग आयोजनालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सांसद बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १० का सिवराम राउत, स्थानीय जनप्रतिनिधि, आयोजनाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।