जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार १५:१३

मधेसमा चौथोबाट दोस्रोमा उक्लियो एमाले, खुम्चियो माओवादी र मधसवादी दल


जनकपुर, जेठ १४ । मधेश प्रदेशमा अघिल्लो निर्वाचनमा चौथो भएको नेकपा एमाले यसपालीको निर्वाचनमा लोकप्रिय मतसहित दोस्रो भएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले मधेशको जनताको मन जित्दै दोस्रो स्थानमा उक्लिएको हो ।

अघिल्लो निर्वाचनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति नकारात्मक धारणा बनाएको मधेसले पाँच वर्षमा त्यो धारणा बदलेको छ । ओली प्रधानमन्त्री भएका बेला मधेसमा अघि बढाइएको विकासको लहर, ओलीलाई अनेक थरी आरोप लगाउने मधेसवादी दलका नेताहरुप्रतिको मधेसी जनताको भ्रम टुट्नु नै एमालेलाई लोकप्रिय जनमत दिने कारक रहेको छ ।

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशका ८ जिल्लामा १ सय ३६ स्थानीय तहमध्ये नेपाली काँग्रेसले ४५ वटा स्थानीत तह जितेर पहिलो बनेको छ । यसैगरी ३० वटा स्थानीय तहमा जीतसहित एमाले दोस्रो भएको छ । निर्वाचन परिणामअनुसार मधेसवादी पार्टी भनेर चिनिएका जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी निकै कमजोर देखिएका छन । जसमा जसपाले २६ स्थानीय तह जितेको छ भने लोसपाले १४ स्थानीय तह जितेको छ ।

यसपटकबाट मधेशमा नेकपा माओवादी केन्द्र एमाले भन्दा ३ गुणा भन्दा सानो आकारमा खुम्चिएको छ । माओवादीले जम्मा ९ वटा स्थानीय तह मात्र जितेको छ । नेकपा एसले ६ वटा स्थानीय जितेको छ भने जनमत र तमलोपाले २/२ वटा स्थानीय तह जितेका छन । त्यसैगरी स्वतन्त्र २ र विवेकशिल साझाले १/१ वटा स्थानीय तह जितेका छन ।

जनमतका आधारमा एमाले र काँग्रेसको करिब हाराहारी मत आएको छ । काँग्रेसले ५ लाख ६६ हजार ४ सय ७३ मत ल्याउँदा एमालेले ५ लाख ३ हजार १ सय ४७ मत पाएको छ । जसपाले ३ लाख ९५ हजार ६ सय ८१ मत पाएको छ । माओवादी केन्द्र २ लाख ५६ हजार ७ सय ४३ मत पाउँदा लोसपाले २ लाख २ हजार २ सय ७१ मत पाएको छ ।

जिल्लागत हिसाबले पर्सामा एमाले ५ वटा स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ । १४ वटा स्थानीय तह रहेको पर्सामा कांग्रेस र जसपाले ४ वटा मात्र जितेका छन् । बाराका १६ वटा स्थानीय तह मध्ये एमाले ५ वटा जित्दा काँग्रेसले ४ र जसपाले ३ वटा जितेका छन । तुलनात्मक रुपमा रौतहटमा एमालेलाई क्षती पुगेको छ । यहाँका १८ वटा स्थानीय तह मध्ये काँग्रेसले ६ र नेकपा एसले ४ वटा जित्दा एमालेले ३ वटा जित्न सफल भएको छ ।

तर, जनमतको हिसाबले दोस्रो स्थानमा एमाले छ । काँग्रेसले ७५ हजार ८ सय ५९ ल्याँउदा एमालेले ५६ हजार २१ मत ल्याएको छ । सर्लाही जिल्लामा एमाले धेरै कमजोर देखिएको छ । २० वटा स्थानीय तह भएको सर्लाहीमा काँग्रेसले १२ वटा जित्दा एमालेले एउटा मात्र स्थानीय तह जित्न सकेको छ । तर जनमतको हिसाबले एमाले सर्लाहीमा तेस्रो स्थानमा छ । काँग्रेसले ९६ हजार ४ सय ८४ मत ल्याउँदा एमालेले ६३ हजार १ सय ६८ मत ल्याएको छ ।

महोत्तरीमा पनि एमाले कमजोर देखिएको छ । १५ वटा स्थानीय तह भएको यो जिल्लामा लोसपा र जसपाले ५/५ वटा स्थानीय तह जित्दा एमालेले एउटा मात्र स्थानीय तह जितेको छ । धनुषाका १८ वटा स्थानीय तहमध्ये काँग्रेसले १० वटा जित्दा एमालेले ३ वटा मात्र जित्न सकेको छ । तर धनुषामा एमाले जनमतको आधारमा ठूलो पार्टी भएको छ । जहाँ एमालेको ६८ हजार ५ सय ९८ मत आउँदा काँग्रेसको ६८ हजार ५ सय २३ मत आएको छ । सिराहामा अन्य पार्टीलाई पछाडी छोड्दै एमाले पहिलो पार्टी बनेको छ । सिराहाका १६ वटा स्थानीय तह मध्ये ९ वटामा एमालेले जितेको छ भने जसपाले ४ वटामा मात्र जितेको छ ।

सप्तरी जिल्लाका १८ वटा स्थानीय तहमध्ये काँग्रेस दोस्रो भएको छ । जहाँ काँग्रेसले ५ वटा तह जित्दा एमालेले ३ वटा तह जितेको छ । सो जिल्लामा ५ सय भन्दा कम मतान्तरले ८ वटा स्थानीय तहमा एमाले पराजीत भएको छ ।