जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार १५:३७

पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्नेलाई दिन्छु : आले


उदयपुर, १४ जेठ । रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रामिक बापतको रकम नलिने घोषणा गर्नुभएको छ । उहाँ आज पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गर्नुभयो ।

माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रामिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यक्तालाई पहिचान गरेर सहयोग पुर्याउने जानकारी दिनुभयो । मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । त्यसबेला झिनो मतले पराजित हुनुभएको थियो ।

मगर यसपटक भने एमालेका उम्मेदवार भरतबहादुर थापालाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष मगरले सम्पूर्ण क्षेत्रसँग सहकार्य र सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।