जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार १८:५२

नविना लामाको प्रश्न : कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ ?


काठमाडौं, जेठ १४ । नेकपा एमालेकी नेतृ नविना लामाले सरकारी कर्मचारीको पोसाक र सरकारी कार्यालयका फर्निचर नेपाली सामग्रीबाट बनेको हुनुपर्ने अनिवार्य नीति ल्याउनुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी एमाले केन्द्रीय सदस्य लामाले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले जोखिम मोल्नुपर्ने बताउनु भयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद लामाले जनताका समस्या समाधान गर्न र मुलुकका वर्तमान समस्याबाट पार पाउन ठोस योजना ल्याउनुपर्ने बताउनु भयो । ‘नेपाली उत्पादन र उपभोगको दशक नारा आकर्षक छ । तर, यसको ठोस कार्यक्रम चाहिन्छ । सरकारी कार्यालयमा प्रयोग हुने फर्निचर नेपाली हुनुपर्छ, कर्मचारीले लगाएको पोसाक नेपाली कपडाबाट बनेको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ ?,’ लामाको प्रश्न थियो । उहाँले जोखिम नमोलीकन आमुल परिवर्तन हुने बताउनु भयो ।

लामाले भन्नुभयो, ‘केही न केही जोखिम नमोलिकन आमूल परिवर्तन हुन सम्भव छैन । हाम्रो जंगलमा काठ कुहिएर गएको छ, फर्निचर मलेसिया र चीनबाट मगाउनुपर्ने अवस्था छ । यस्तो अवस्था तोड्नुपर्छ, तोड्न सक्नुपर्छ ।’ लामाले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख गरिएको तर मुख्य कुरा अहिलेको आर्थिक संकटलाई कसरी तोड्ने भन्ने उल्लेख नभएको बताउनु भयो ।

उहाँले वर्तमान अवस्था र नीति तथा कार्यक्रम हेर्दा पत्याउन गाह्रो भएको बताउनु भयो । सरकारले नीति तथा कार्यक्रममा बेरोजगारी कसरी अन्त्य गर्ने भन्ने मार्गचित्र प्रस्तुत नगरेको पनि उहाँको भनाई छ । ‘सुशासन र पारदर्शीताको कुरा गरिएको छ । म चुनौती दिन चाहन्छु सुशासन र पारदर्शीताका लागि सबैभन्दा पहिला सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न सकियोस्‚ हिम्मत छ ? विगतमा सार्वजनिक हुँदै गरेको थियो, यसपटक किन भएन ? सरकारले सरकारी कार्यालयका फजुल खर्च कटौती गर्ने आँट गर्न सक्छ ?,’ लामाको थप प्रश्न थियो ।