जनता टाइम्स

१६ जेष्ठ २०७९, सोमबार १४:०३

हेटौंडा उपमहानगरमा कमजोर छैन एमाले, कार्यपालिकामा स्पष्ट बहुमत


मकवानपुर, जेठ १६ । मेयर र उपमेयर दुवै गुमाएको नेकपा एमालेले हेटौंडा उपमहानगरको कार्यपालिकामा भने स्पष्ट बहुमत हासिल गरेको छ । हिजो भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको तर्फबाट आठजना सदस्य निर्वाचित भएसँगै नगर कार्यपालिकामा एमालेले स्पष्ट बहुमत हासिल गरेको हो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछिको कार्यपालिका निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट खुल्लातर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई ,पातली माया गोङबा, ईश्वरी बिश्वकर्मा, रुकमिणी स्याङतान, मंजु भुर्तेल तथा साधना श्रेष्ठ निर्वाचित हुनुभएको छ । विजयी सबैले समान ५० मत प्राप्त गर्नुभएको छ ।

पराजित गठबन्धनका उम्मेदवारले पनि समान ४७ मत प्राप्त गरेका थिए । निर्वाचन सम्पन्न भएसँगै अब एमालेबाट १७ तथा गठबन्धनबाट १२ जना सदस्य रहेको २९ सदस्यीय कार्यपालिका निर्माण भएको छ । कार्यपालिकामा नेकपा एमालेबाट १७ सदस्य पुगेको छ भने नेपाली कांग्रेसबाट उपमेयरसहित ९, नेकपा एकीकृत समाजवादीबाट मेयरसहित दुई तथा नेकपा माओवादी केन्द्रबाट एकजना वडाध्यक्ष मात्र सदस्य रहने छन् । नगरसभामा पनि ५१ सदस्यसहित एमाले स्पष्ट बहुमतमा रहेको छ ।