जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १४:५६

प्रचण्डको स्वीकारोक्ति : माओवादी झनै खराब हो कि भन्ने परेको छ


काठमाडौं, जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको स्वीकार गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आज अध्यक्ष प्रचण्डले यस्तो स्वीकारोक्ति गर्नुभएको हो । उहाँले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको पनि बताउनु भयो ।

‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ, हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ,’ प्रचण्डको भनाई थियो ।

विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गएको उहाँको भनाई छ । ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो,’ प्रचण्डले भन्नुभयो ।