जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार १५:४४

औषधि किन्न गएका साहको शव इनारमा भेटियो


सिरहा, १९ जेठ । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका–२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो । मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताउनुभयो ।

औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रमा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताउनुभयो । मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उहाँको भनाइ छ । शवलाई इनारबाहिर निकाली पोष्टमार्ट्मका लगि धरानस्थितको बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भरहेको उहाँले जनाउनुभयो ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गर्नुभएको छ । उहाँले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताउनुभयो । साह एक महिना अधिमात्रै वैदेशिक रोजगरीबाट घर आउनुभएको थियो । गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उहाँको विवाद भएको थियो ।