जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार ०९:३२

पाँच दल मिल्दा पनि रुपन्देहीमा कांग्रेसले जुटाउन सकेन बहुमत, एमालेले लिनसक्छ जिससको नेतृत्व


रुपन्देही, जेठ २० । रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये १० वटाको प्रमुख जितेको सत्तारुढ नेपाली कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्वका लागि बहुमत पुर्याउन कठिन बनेको छ । रुपन्देहीमा कांग्रेस एक्लै नभएर गठबन्धनमा रहेका पाँच दलको साथ हुँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुगको हो ।

जिल्लाको १० पालिकामा नेतृत्व जितेको कांग्रेसबाट उपप्रमुखमा चारजनाले मात्र जितेका छन । अधिकांश पालिकामा गठबन्धन गरेका पाँच दलबाट जसपाले १ गाउँपालिका प्रमुख जितेको छ । अन्य दलले कुनै पालिका प्रमुख र उपप्रमुख जित्न नसक्दा गठबन्धनमा रहेका पाँच दलको मतभार १५ मात्रै हुन्छ । यहाँको समन्वय समिति नेतृत्वका लागि १७ जना आवश्यक पर्दछ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले कन्चन गाउँपालिकाको उपप्रमुख जितेपनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले कांग्रेसकै भएका छन भने नेकपा एसले कुनै पनि पालिकामा आफ्नो उपस्थिति समेत जनाउन नसकी सर्मनाक अवस्थामा रहनु परेको छ ।

यसअघि समन्वय समितिको नेतृत्व लिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३ पालिका प्रमुख र ८ उपप्रमुख गरेर जम्मा ११ मतभार बनाएको छ । जिसस नेतृत्व लिन एमालेका लागि थप ६ जना आवश्यक पर्छ । जिससमा निर्वाचित गराउने निर्णायक शक्तिको रुपमा लोसपा, जनता प्रगतिशील र राप्रपा रहेका छन ।

लोसपाले १ प्रमुख र २ उपप्रमुख, जनता प्रगतिशीलले १ प्रमुख र १ उपप्रमुख तथा राप्रपाले १ उपप्रमुख जितेका छन । तीनै दलले गठबन्धनलाई भन्दा एमालेलाई साथ दिने संभावना रहेको छ । यी तीन दलले एमालेलाई साथ दिएको अवस्थामा कांग्रेस पाँच दलीय गठबन्धन गर्दा पनि जिससमा पुग्नबाट बञ्चित हुने प्रष्ट देखिएको छ ।