जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार १४:४८

सिसडोलवासीसँग काठमाडौंका मेयर बालेनले गरे यस्तो प्रतिबद्धता


काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै उपमेयर सुनिता डंगोलसहित नुवाकोटमा रहेको सिसडोल क्षेत्र पुग्नुभयो । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उहाँ सो क्षेत्रमा पुग्नुभएको थियो ।

उपमेयर डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल गर्नुभयो । छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताउनु भयो । स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताउनु भयो । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा जोड दिनुभयो ।

स्थानीयसँग उहाँले अर्को पनि प्रतिबद्धता जनाउनु भयो–फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने ।’ ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सार्नुभयो । यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने उहाँले बताउनु भयो ।

छलफलको क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि मेयरसँग आग्रह गरे ।

सिसडोलवासीले फोहोर बिर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन् । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मेयर साहले यसअघि बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग भेट गरेका थिए । भेटको क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो ।

अहिले निर्माणाधिन अवस्थामा रहेको बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो । मेयरमा निर्वाचित भएसँगै मेयर साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुग्नुभएको थियो । त्यसपछि आज बिहान उहाँ सिसडोल पुग्नुभएको हो । काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने उहाँले घोषणा गर्नुभएको छ ।