जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १६:१७

‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना


जुम्ला, २१ जेठ । दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् । आर्थिक सहयोग पाए बाँच्‍ने उहाँको आशा छ । तातोपानी गाउँपालिका–२ निवासी उहाँ उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्‍न बाध्य हुनुभएको हो । ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘घरको आर्थिक अवस्था कमजोर छ । दुवै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने डाक्टरले भनेका छन् । सबै सहयोगी मनहरूलाई सहयोग गर्न अपिल गर्छु । मेरो घरमा छ वर्षीय छोरा र श्रीमती मात्रै मेरा साहारा छन् । बाँच्‍ने इच्चा छ ।’ स्थानीय रामबहादुर रावलले आर्थिक अभावले खत्रीलाई अस्पताल लान नसकिएको र घरमै राख्नुपरेको पीडा व्यक्त गर्नुभयो । सकेको आर्थिक सहयोग गरेर बचाउन चाहनेले आफ्नै मोबाइल नम्बर ९७४९८४१३२४ मा सम्पर्क गर्न खत्रीको अनुरोध छ ।

उहाँले सांग्रिला डेभलपमेन्ट बैँक जुम्ला शाखामा रहेको आफ्नो खाता नम्बर ०२८०१२००३०७७२७०००००१ मा रकम जम्मा गर्न सकिने पनि बताउनुभयो । बिरामी भएपछि उहाँ नेपालका विभिन्‍न अस्पताल र भारतका केही अस्पतालमा उपचारका लागि जानुभएको थियो । सो क्रममा दुवै मिर्गौलो काम नगर्ने भएको अवस्थामा पुगेको चिकित्सकले भनेपछि उहाँ गत चैतमा घर फर्किनुभएको थियो । आर्थिक अभावकै कारण उपचार गराउन नसकेपछि घरमै थलिनुभएको छ ।