जनता टाइम्स

२४ जेष्ठ २०७९, मंगलवार ०९:१७

माधवको निर्णय देउवाले उल्ट्याइदिएपछि


काठमाडौं, जेठ २४ । बिधि र पद्धतीबिनै मन्त्री फेर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवादेखि आफ्नै पार्टीका मन्त्रीसम्मको अपमान सहनु परेको छ । प्रधानमन्त्री देउवाले कुनै पार्टीको कमाउने धन्दामा सरकार पर्न नहुने भन्दै बालुवाटार बोलाएर नेपाललाई मन्त्री परिवर्तन नगर्ने र पर्यटनमन्त्री प्रेम आलेलाई धोका नदिने बताएर अपमानजनक रुपमा नेपाललाई फिर्ता पठाउनु भएको हो ।

निर्णय कार्यान्वयन गर्न भन्दै बालुवाटार पुग्नुभएका अध्यक्ष नेपाललाई प्रधानमन्त्री देउवाले संभव छैन भन्द पठाउनु भएको पाइएको छ । यता फिर्ताको निर्णयसँगै मन्त्रीहरु नै पार्टीको निर्णयविरुद्ध लागेर रोकाएका छन । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको निर्णय रोक्न अर्का सत्ता साझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि प्रधानमन्त्री देउवासम्मलाई गुहारेर निर्णय कार्यान्वयन हुुनबाट रोकाएका हुन । यही कारण प्रधानमन्त्री देउवाले एकीकृत समाजवादी अध्यक्ष नेपालको सिफारिस अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले बताएको छ । यससँगै नेपाल गठबन्धनमा अपमान सहेर बस्नुपर्ने एउटा निरीह पात्रका रुपमा देखिनुभएको छ ।

नेपालले आइतबार मन्त्रीहरू प्रेमबहादुर आले (पर्यटन), रामकुमारी झाँक्री (सहरी विकास), कृष्णकुमार श्रेष्ठ (श्रम), विरोध खतिवडा (स्वास्थ्य) लाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ नाम सिफारिस गर्नुभएको थियो । जसका ठाउँमा क्रमशः जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानीप्रसाद खापुङ (स्वास्थ्य मन्त्रीमा बढुवा) र हीराचन्द्र केसी (राज्यमन्त्री)का नाम उक्त पार्टीले पठाएको थियो । यो निर्णयसँगै सवै जना सोमबार मन्त्री बन्ने भन्दै बधाई लिइरहनुभएको थियो । तर, साँझपख निराश हुनुपरेको छ ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान गठबन्धनको बैठक बोलाएका थियो । उक्त बैठकमा गठबन्धन र बजेट पारित गर्न समस्या आउन सक्ने भन्दै देउवाले नेपालको प्रस्तावलाई अस्वीकार गर्नुभएको हो । बालुवाटारमा आइतबार बिहान देउवा र नेपालबीच मन्त्री हेरफेरका विषयमा कुराकानी भएको थियो । त्यसकै आधारमा नेपालले पार्टीको सचिवालय बैठक बसाएका थिए । तर मन्त्रीहरुले बजेट छलफल चलिरहेका बेला मन्त्रिमण्डल हेरफेर नगर्न देउवा र दाहाल गुहारेका थिए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उपयुक्त समय होइन भन्ने लागेर प्रधानमन्त्रीले मन्त्री हेरफेर रोकेको हुन सक्ने बताउनु भएको छ ।