जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार ११:०८

अध्यक्ष ओलीमाथिको आक्षेप बन्द गर्न महासचिव पोखरेलको आग्रह


काठमाडौं, जेठ २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव दिनुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा अपेक्षाकृत नआएको भन्दै अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाउन थालेपछि महासचिव पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई प्रहार गर्ने कामलाई बन्द गर्न आग्रह गर्नुभएको हो । पोखरेलले मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार राख्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारीपूर्वक लाग्नु उपयुक्त हुने कुरा सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

महासचिव पोखरेलले लेख्नुभएको छ, ‘नेकपा एमालेको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा (एमाले) भित्रबाटै सम्भव छ ।’