जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १७:०२

आलोचित गृहमन्त्री, कामभन्दा बदनाम बढी


काठमाडौं, जेठ २५ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रमुुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले शान्ति सुरक्षासम्बन्धी सवाललाई लिएर बारम्बार जवाफ मागिरहेका छन । जवाफ माग्ने सांसदहरूका अनुसार गृहमन्त्री खाण शान्ति सुरक्षा कायम गर्न पुर्णत असफल हुनुहुन्छ ।

बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको हत्या र बलात्कारका घटनाबारे संसद बैठकमा एमाले सांसदहरूले गृहमन्त्री खाणसँग जवाफ मात्र मागेका छैनन, उहाँको कडा आलोचना पनि गर्दै आएका छन । आलोचित गृहमन्त्री खाण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुनुहुन्छ । २९ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएकै दिनसानो आकारको मन्त्रिपरिषद गठन गर्दा नै देउवाको रोजाइमा खाण पर्नुभयो । पहिले रक्षामन्त्री हुनुभएका खाणलाई देशको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धिको विभागीय मन्त्री देउवाले बनाए पनि सरकारका सर्वाधिक आलोचित मन्त्रीका रुपमा खाण देखा पर्नुभएको छ ।

संसद बैठकमा शान्ति सुरक्षाको विषयलाई लिएर गृहमन्त्री खाणको आलोचना गर्नेमध्येका एक जना एमाले सांसद हुनुहुन्छ, यज्ञ बोगटी । सांसद बोगटीले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु घटनालाई लिएर खाणको आलोचना गर्दै सत्य तथ्य छानबिनको माग मङ्गलबार गर्नुभयो । उहाँले प्रहरीले उजुरीसमेत लिन नमान्नुलाई सामान्य ठान्न नहुने भन्दै यथार्थ खोल्नुभयो ।

शाहीको प्रश्नको जवाफ दिँदै खाणले प्रहरीले उजुरी लिने बताउँदै पन्छिनुभयो । एमालेकै सांसद गंगा चौधरीले बर्दियामा गोली लाग्दा भएको युवतीको मृत्यु घटनाबारे संसद्मै प्रश्न गर्नुभयो, ‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’ बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गर्नुभयो ।

खाणले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र गोली हान्न प्रहरीलाई आदेश पनि नदिइएको भन्दै पन्छिनुभयो । घटनाको छानबिनका लागि मन्त्रालयकै सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जानकारी पनि दिनुभयो ।
संसद् बैठक बसेपछि लगातारजस्तो गृहमन्त्री खाणविरुद्ध एमाले मात्र नभई अन्य पार्टीका सांसदहरूले शान्ति सुरक्षाको विषयलाई लिएर आलोचना गर्दै आएका छन ।

त्यसो त खाण प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) बढुवामा पनि विवादमुक्त हुन सक्नुभएन । गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाउँदै उमेर हदका कारण हाल सेवा निवृत्त अवस्थामा रहेका प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । रिटको टुङ्गो लाग्न भने बाँकी छ ।

गृहमन्त्री खाण कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेता मानिनुहुन्छ । प्रधानमन्त्री देउवाका विश्वास पात्र भए पनि उहाँको ‘पर्फर्मेन्स’ भन्ने प्रशंसायोग्य नभएको यी विवादास्पद कदमले देखाएको छ । (न्यूज कारखाना)