जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार १७:१३

महेश बस्नेतले सुनाए ‘बालुवाटारका महारानी र खुमलटारका महाराज’हरूको कथा


काठमाडौं, जेठ २६ । नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले नै चलाउनु भएको हो भन्दै प्रश्न गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले प्रधानमन्त्री देउवाले नै सरकार चलाइरहनु भएको विषयमा गम्भीर शंका रहेको बताउनु भयो ।

‘हामीलाई थाहा छ, प्रधानमन्त्रीज्यूको शारीरिक अवस्था अलि कमजोर छ, त्यसैले प्रधानमन्त्री भन्दा अरु कसैले यो सरकार चलाइरहेको जस्तो अनुभूति हामीलाई हुन्छ,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बस्नेतले भन्नुभयो । एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका बस्नेतले आफूले अन्य बसैले नै सरकार चलाइरहेको सुनेको बताउनु भयो ।

‘मान्छेहरू भन्ने गर्छन–बूढानीलकण्ठमा महाराजहरूले पो यो गरिरहेका छन कि ? राजकुमारहरूले पो यो गरिरहेका छन कि ? बालुवाटारका महारानीहरूले पो यो सरकार चलाइरहेका छन कि ?’ आफ्नो धारणा राख्नेक्रममा बस्नेतले भन्नुभयो, ‘खुमलटारका महाराजहरूले पो यो सरकार चलाइरहेका छन की ? अथवा कतिपयले यो भन्ने गर्छन अनेक खालका प्रवृत्ति बोकेका अनेक खालका स्वार्थ बोकेका व्यापारी व्यवसायीले यो काम गरिरहेका छन् की ?’

एमाले नेता बस्नेतको यो भनाई प्रधानमन्त्री पत्नी, पुत्र, साला र नेकपा माओवादी केन्द्रका अध्यक्षतर्फ लक्षित रहेको छ ।