मोरङ, जेठ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताउनु भएको छ । विराटनगरमा पत्रकारसँग कुराकानीमा अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताउनु भएको हो ।
‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन,’ अध्यक्ष ओलीले भन्नुभयो । उअध्यक्ष ओलीले यसअघि विराटनगरमा आयोजित कार्यक्रममा असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको पनि बताउनु भयो ।
‘पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्यै छ, पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो,’ ओलीले भन्नुभयो । उहाँले स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने तथ्य पनि राख्नुभयो ।
‘६ दल मिलेस कुनै सिद्धान्त‚ विचार रहेनस जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो, थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ,’ उहाँको भनाई थियो । अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्