जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार १५:३४

फोहोरको समस्या समाधान गर्ने दीर्घकालीन योजना बनाउँदै छौँ : उपमेयर सुनिता डंगोल


काठमाडौं, जेठ २८ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको व्यवस्थापनको दीर्घकालीन उपाय खोजी भइरहेको बताउनुभएको छ ।

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले शनिबार महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई गरेको सम्मान पछि पत्रकारसँग बोल्दै उपप्रमुख डंगोलले अहिलेको समाधान अस्थायी खालको समाधान मात्रै भएको बताउनुभयो । फोहोर व्यवस्थापन महानगरको पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

‘महानगरबाट हामीले फोहोर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ’, डंगोलले भन्नुभयो । उहाँले काठमाडौंको फोहोर उठ्न थाले पनि यो स्थायी समाधान नभएको बताउनुभयो । जहाँको फोहोर हो, त्यहीँ नै व्यवस्थापन गर्न नसक्दासम्म फोहोरको दिगो व्यवस्थापन नहुने उहाँले प्रष्ट पार्नुभयो । यसको लागि नगरपालिकाले योजना बनाइरहेको उहाँले बताउनुभयो ।

डंगोलले कुहिने र नकुहिन फोहोर घरैबाट छुट्याउन पनि आग्रह गर्नुभयो । कुहिने र नकुहिने फोहोर घरैबाट छुट्याउँदा फोहोरको समस्या धेरै समाधान हुने उहाँले बताउनुभयो ।