जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १५:४१

गठबन्धनलाई हराउँदै जिसस बारामा एमालेको प्यानल बिजयी : प्रमुखमा साह, उपप्रमुखमा सापकोटा निर्वाचित


इन्दिप कोइराला, बारा । बारा जिल्ला समन्वय समितिमा नेकपा एमालेको र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला जिल्ला समन्वय समिति प्रमुखमा एमालेबाट उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित हुनुभएको हो ।

साह कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्पसंख्यक सदस्य हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले १२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी चण्डिका सापकोटाले १७ मत प्राप्त गरी विजयी हुनुभयो । सापकोटाको प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पवनकुमार व्याहुतले १५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा निर्वाचित चण्डिका निजगढ नगरपालिका ९ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो । समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दल र एमाले लोसपा बीच तालमेल भएको थियो ।

समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले एकता गरेपछि जसपा र विवेकशील साँझा पार्टी निर्णायक बनेका थिए । सबैभन्दा बढी पालिकामा जितेर जिल्लामा पहिलो बनेको नेकपा एमालेले जसपा र विवेकशीलसंग एकताको प्रयास भए पनि अन्त्यमा हुन सकेको थिएन ।

समन्वय समितिको निर्वाचनमा एमालेसँग ११ मत, नेपाली कांग्रेससँग ८ मत, लोसपासँग ६ मत, जसपासँग ४ मत, विकेकशील साझासँग २ मत, माओवादी केन्द्रसँग १ मत थियो ।