कास्की, जेठ ३० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको थापाले बताउनु भयो ।
प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उहाँको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय संरचना बनाउनु पर्छ,’ थापाले भन्नुभयो, ‘राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्छ ।’ पाँच वर्षको अनुभवमा तीन तहको संघीय संरचनामा प्रदेश सरकारको प्रभावकारिता नदेखिएको पनि थापाले जिकिर गर्नुभयो ।
निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक
पूर्वगृहमन्त्री समेत रहेका थापाले अहिलेको निर्वाचन प्रणाली पनि असफल भएको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनु भयो ।
‘७० वर्षसम्म संसदीय व्यवस्थालाई अवलम्बन गरियो, यसले राजनीतिक स्थायित्व कायम गर्न सकेन, आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ,’ थापाले भन्नुभयो ।
अहिलेको निर्वाचन प्रणालीमा कमी कमजोरी, विकृति र विसंगति देखिएको, पैसाको चलखेल, सत्ता र शक्तिको दुरुपयोग हुने गरेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त भएको भनाइ थापाको भनाइ छ । प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचनबाट निर्वाचित संसद र संसदबाट निर्वाचित राष्ट्रपति हुने निर्वाचन प्रणाली नै आवश्यक भएको थापाको दाबी छ ।
नेपाल पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र
राप्रपा नेपालका अध्यक्ष थापाले समयअनुसार पार्टीले आफ्नो सिद्धान्त, अवधारणा र मान्यतालाई परिवर्तन गरेको बताउनु भयो । उहाँले राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारित समवद्र्धनवाद पार्टीको वैचारिक दर्शन हुने बताउनु भयो ।
गणतन्त्र स्थापानापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने भनाइ उहाँको छ । ‘गणतन्त्र स्थापनापछि नेपाल राज्यको इतिहास, हाम्रो धर्म, संस्कृतिको अवमुल्यन हुने गरी जुन भाष्य तयार गरिएको थियो, त्यो आपत्तिजनक छ,’ थापाले भन्नुभयो, ‘हाम्रो इतिहासलाई कंलकित गर्ने, सनातन धर्म संस्कृति, मूल्य मान्यतालाई अवमूल्यन गर्ने जुन किसिमको भाषा प्रस्तुत गरियो, त्यसको विकल्पमा सनातन धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै राष्ट्रको विकास गर्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढेको हौं, हिन्दू राष्ट्र बनाउने दिशामा नै केन्द्रित भएर लाग्छौं ।’
राजसंस्था स्थापना सम्भव छैन
नेपालमा गण्तन्त्र स्थापना भएपछि पनि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आउनु भएका थापाले अब राजसंस्थाको स्थापना सम्भव नभएको बताउनु भयो । ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो,’ थापाले भन्नुभयो ‘हामी राज संस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं । तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’
व्यक्तिगत रुपमा पूर्वराजाप्रति सम्मान भए पनि राप्रपा नेपालले राजसंस्थाको मुद्दालाई छोडिसकेको थापाको भनाइ छ । उहाँले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना गर्नुभयो । राज संस्थासँग धेरैको गुनासो नभए पनि राजा बन्ने पात्रहरू सम्झिदा अब सम्भव नभएकोले यो मुद्दालाई राप्रपा नेपालले छाडेको उहाँले प्रष्ट पार्नुभयो । ढिलो चाँडो राजेन्द्र लेङ्देनलगायतका पनि राप्रपा नेपालको बाटोमा आउने ठोकुवा पनि थापाले भर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्