जनता टाइम्स

१ असार २०७९, बुधबार १३:२१

निहारिकाको विषय संसदमा प्रवेश : पीडितलाई न्याय र पीडकलाई सजाय दिन माग


काठमाडौं, १ असार । आफूमाथि बलात्कार भएको र त्यसबाट जन्मेको बच्चा २१ महिना हुँदासमेत न्याय नपाएको भन्दै काठमाडौंमा ६ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीकी निहारिका राजपुतको विषय संसदमा प्रवेश गरेको छ । स्थानीय प्रशासन, जिल्ला अदालत र उच्च अदालतबाट समेत न्याय नपाएको भन्दै पाँच बुँदे माग राखेर निहारिकका आमरण अनशन बसेको बुधबार छैटौँ दिन हो ।

छैटौँ दिनका दिन बसेको प्रतिनिधिसभामा सांसद थममाया थापाले निहारिकालाई न्याय दिन सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘१७ वर्षको हुँदा नशालु पदार्थ खुवाएर शिवराम श्रेष्ठले बलात्कार गरेको र सो बलात्कारबाट रहेको गर्भबाट जन्मिएको बच्चा २१ महिना भइसकेको छ । तर, उनले न्याय पाइनन्,’ बैठकमा उहाँले भन्नुभयो, ‘ यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन् ।

उनी अहिले राजधानीमा काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । आमरण अनशन बसिरहेकी छन् । जुन राज्यका लागि लाजमर्दो घटना हो ।’ निहारिकाको पाँच बुँदे माग यथाशीघ्र सम्बोधन गरेर उनलाई न्याय दिन र पीडकलाई कारबाही गर्न माग गर्नुभयो ।