जनता टाइम्स

१ असार २०७९, बुधबार २२:३९

निःशुल्क खोप ५ हजार तिरेर लगाएको प्रमाण सांसद रावलले माग्दा स्वास्थ्यमन्त्री खतिवडा घोसेमुन्टो लगाउँदै कुलेलम


काठमाडौं, १ असार । नेकपा एमालेका सांसद झपड रावलले कोभिड–१९ को निःशुल्क खोपलाई ५ हजार तिरेर लगाउने मन्त्रीले जवाफ दिनुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा रावलले स्वास्थ्यमन्त्री विरोध खतिवडाले केपी ओली सरकारको पालामा निःशुल्क लगाइएको खोपलाई ५ हजार तिरेर आफूले लगाएको भन्दै दिएको अभिव्यक्तिप्रति खरो रुपमा प्रश्न गर्नुभएको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको ११ जना मन्त्रीले जवाफ दिएका थिए । उक्त छलफलका क्रममा सांसद रावलले स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडालाई भन्नुभयो,‘हामी सबै सांसदले बानेश्वरमा निःशुल्क कोभिडको खोप लगाएका थियौं । उक्त समयमा जनता ससंकित थिए, खोप लगाउने कि नलगाउने भनेर अनि तपाईले कहाँ ५ हजार दिएर खोप किन्नुभयो, सम्माननिय सभामुख मार्फत निर्देश होस् । होइन जिस्केर भन्नुभएको हो भने पनि मन्त्रीले जवाफ दिनुपर्छ ।’

उक्त छलफलमा मन्त्री खतिवडाले जवाफ नै नदिएर कुलेलम ठोक्नुभएको छ । निःशुल्क खोप लगाएका मन्त्री खतिवडाले संसदमा जवाफ दिन नसकेपछि कुलेलम ठोक्नुभएको हो । यसअघि २४ लाख डोज खोप गायव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ हजार रुपैयाँ तिरेर खोप लगाएको दाबी गर्नुभएको थियो । ओली सरकारको पालामा अनुदानमा आएको निःशुल्क खोप लगाउन आफूले ५ हजार रुपैयाँ तिरेको भन्दै मन्त्री खतिवडाले एक टेलिभिजनलाई अन्तर्वार्ता दिनुभएको थियो ।