जनता टाइम्स

२ असार २०७९, बिहीबार १४:०९

अर्थ मन्त्रालयमा दुई अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको सीसीटिभी फुटेज सार्वजनिक नगरेपछि एमालेले गर्यो संसद बैठक बहिस्कार


काठमाडौं, २ असार । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो ।

सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराउनुभयो ।

यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए । एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जवाफ दिइरहनुभएको छ । उहाँले कुनै पनि अनाधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गर्नुभयो ।