जनकपुरधाम, ३ असार । करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छट्पटाउँदै जीवन बिताउन बाध्य हुनुहुन्छ । अस्पतालको शैयामा छटपटाउँदै आउनुभएको उहाँलाई अहिले दुःखको घडिमा साथ दिने न त उहाँका परिवार छन्, न त अन्य आफन्त नै ।
प्रेम विवाह गरेर आफनो सुन्दर भविष्यको परिकल्पना गर्नुभएको उहाँलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शैयासम्म पुर्याएको छ । पति धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुण शाहसँग करिब एक वर्षको चिनजानपछि आठ महिनाअघि प्रेम विवाह गर्नुभएको उहाँ अहिले पतिको चरम शारीरिक यातनाको पीडा सहन बाध्य हुनुहुन्छ ।
विवाहपछि थापाचोकमा डेरामा उनीहरू बस्दै आउनुभएको थियो । उहाँले विवाह गरेको करिब आठ महिनासम्म कोठा लिएर बस्दै आएको र श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएको उहाँले बताउनुभयो । शारीरिक र मानसिक शारीरिक यातनाको कारण सकसमा परेका बेला उहाँको साथमा कोही छैनन् ।
‘समान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भन्नुभयो । गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते हुनुभयो । प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो ।
उहाँ १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएर उपचाररत हुनुहुन्छ । विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताउनुभएको उहाँले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताउनुभयो ।
‘महिनाको १० हजार जति मैले पनि कमाउँथे । घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ । बढिजसो मैसँग बस्थ्यो तर, पछि दुईरतीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो,’ राधिकाले भन्नुभयो, ‘त्यसपछि आफूले सोधखोज गर्दा यातना दिने गरेको र त्यो दिनसमेत विवाद भएको र घरमा आफूलाई लैजान भनेपछि विवाद भयो । विवादपछि उनले कुटपिट गर्दै करेन्ट लगाएका दिए । करेन्ट लगाएपछि बेहोस भएछु, कसले अस्पताल लग्यो, त्यो पनि थाहा पाइनँ ।’
उहाँलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन् ।
उहाँको हातको औँलादेखि खुट्टाको औँला र शरीरको भागहरू समेत जलेको छ । घटना भएदेखि नै अरुण फरार छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उद्धार गरेर अस्पताल लगेको जानकारी दिनुभयो । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्