जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १८:३९

अल्का अस्पतालको सिइओमा दिलिप थापा


ललितपुर, साउन १ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिलिप थापा नियुक्त हुनुभएको छ । अल्का अस्पतालको बोर्ड बैठकले थापालाई सिइओमा नियुक्त गरेको हो।

थापाले आजबाटै कार्याभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्दै थापाले अल्का अस्पताललाई नमुना अस्पतालको रुपमा विकसित गर्ने प्रतिवद्धता जनाउनु भयो । अल्का अस्पताल १३ वर्षअघि स्थापना भएको हो । अस्पतालका अध्यक्ष कुमार थापाले २०५२ सालमा अल्का फार्मेसी सुरु गर्नुभएको थियो । २०५९ सालमा अल्का फार्मेसी, अल्का पोलिक्लिनिकमा परिणत भएको थियो। अल्का पोलिक्लिनिकले २०६२ सालमा अस्पताल संचालनको अनुमति पाएको थियो। सुरुमा २५ शैयाबाट सुरु भएको अल्का अस्पताल लगत्तै सय शैयामा पुगेको थियो।

अल्का अस्पतालले अहिले मधुमेह तथा थाइराइड, बाल रोग, गाइनोकोलोजी, युरोलोजी,न्युरो फिजिसियन तथा सर्जरी, ग्यास्ट्रोलोजी, कलेजोरोग विशेषज्ञ, आइभिएफ, बाथ रोग विशेषज्ञ, ब्लड क्यान्सर, मुटु रोग विशेषज्ञ, छाति रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञबाट सेवा दिइरहेको छ। त्यस्तै जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, सर्जरी, छाला तथा यौन रोग, डायालासिस विशेषज्ञबाट सेवा दिनुका साथै चौबिसै घन्टा सेवा प्रदान गरिरहेको छ। सो अस्पतालको अन्र्तराष्ट्रिय स्तरको ल्याव छ।

अस्पतालले सिटी क्यान, इन्डोन्स्कोपी, अल्ट्रासाउन्ड, लिथोट्रेप्सी (विना अप्रेसन स्टोन फुटाएर निकाल्ने) सेवा दिइरहेको छ भने लेजर पद्धतिबाट कस्मेटिक उपचार गर्दै आइरहेको छ भने अस्पतालमा ल्याप्प्रोस्कोपिक सेवा उपलब्ध छ। ल्याप्प्रोस्कोपिक भनेको अप्रेसन नगरी दुरविनको सहयोगले सानो प्वाल बनाएर उपचार गर्ने पद्धति हो। निकट भविष्यमा अझै सुविधा सम्पन पुर्वाधार बनाउने अस्पतालको योजना छ।