जनता टाइम्स

५ असार २०७९, आईतवार २३:१४

देउवालाई फालेर प्रधानमन्त्री बन्ने गगन थापाको घोषणा


काठमाडौं, असार ५ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको र अवको निर्वाचनबाट कोशिष गर्ने बताउनु भएको छ । उहाँले चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने घोषणा पनि गर्नुभएको छ ।

कान्तिपुर टेलिभिजनको एउटा टक शोमा थापालाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा थापाले यो घोषणा गर्नुभएको हो । यो प्रश्नमा गगनले तत्काल जवाफ फर्काउनु भयो ‘अफ कोर्स ।’

प्रश्न थियो अहिल्यै ? जवाफ आयो हो । गगनले अब सोच्ने मात्र नभई प्रयास गर्ने बताउनु भयो । ‘कहाँ सोच्ने मात्र, यसपालि त प्रयास गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु,’ थापाले भन्नुभयो । उहाँले पहिले प्रधानमन्त्री भइसकेका नेताहरू अबको चुनावपछि दौडमा सामेल नहुन आग्रह गर्नुभयो ।

थापाले थप्नुभयो, ‘उहाँहरू सबैप्रति मेरो सम्मान छ । तर अबको चुनावपछि कुनै पनि पार्टीको कोही व्यक्ति फेरि प्रम भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन । अब हामीलाई मौका दिनुस् । हामी हाम्रो पुस्ताका साथीहरू बीच प्रतिस्पर्धा गर्छौँ । हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ, नत्र हामीलाई हटाएर अर्को आउँछ ।’