जनता टाइम्स

६ असार २०७९, सोमबार ०९:५५

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध सडक आन्दोलनमा होमियो अखिल


रुपन्देही, असार ६ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठनले आन्दोलन शुरू गरेको छ । आइतवार मध्यरातमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै विद्यार्थी संगठनहरूले आन्दोलन शुरू गरेका हुन् ।

बुटवलमा अनेरास्ववियुले मुल्यबृद्धिको बिरोधमा आज बिहानै प्रदर्शन गरेका छन् । बुटवल क्याम्पस अगाडि विद्यार्थीहरूले मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिनुभयो । बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरि रहेका छन् ।

यता अनेरास्ववियु केन्द्रीय कमिटीले पनि देशभर मूल्यवृद्धिको विरुद्धमा आन्दोलन शुरू गर्ने तयारी गरेको छ । अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालले सरकारी ज्याद्धतीले सीमा नाघेको भन्दै शसक्त आन्दोलन गर्ने बताउनु भयो ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

सत्तारुढ पाँच दलीय बैठकमा निर्णय गरेपछि निगमले मुल्य बढाएको हो । गठबन्धनका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतवार गठबन्धनको बैठकमा मुल्य बढाउने प्रस्ताव आएको खुलासा गर्नुभएको थियो ।