काठमाडौं, असार ६ । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको बहराइनले ७ ओभरमा घटाइएको खेलमा नेपाललाई १५ रनको लक्ष्य दिएको थियो । नेपालले ३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । नेपालको पालीमा सीता रानामगरले चार रन र कविता जोशी २ रनमा अविजित रहिन भने ८ रन अतिरिक्त पायो ।
त्यसअघि बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । बहराइनको पालीमा इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका कविता कुँवर र सबनम राईले दुई–दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए । आजको सफलतासँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मंगलबार हुने समूहको अन्तिम खेलमा हङकङलाई पराजित गर्न सके नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने छ । दुई खेलबाट ४ अंक भएको हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ । नेपाली महिला टोली हालसम्म एसिसी महिला टी–२० को फाइनलसम्म पुग्न सकेको छैन ।
समूह बीमा तीन खेलबाट ६ अंक भएको नेपाल तालिकाको शीर्षस्थानमा रहेको छ । अघिल्ला दुई खेलमा नेपालले भुटान र कुवेतलाई हराएको थियो । नेपालले अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्