जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०७:४१

एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास


काठमाडौं, असोज २१ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

प्रतियोगिता सुरु हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताउनुभयो।

क्यानले दशैंसम्ममा प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा गर्ने जनाएको छ। अघिल्लो संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढाउने तयारी गरिएको छ।

यस्तै, रंगशालाका प्रवेशद्वार तथा दर्शकको आवतजावत व्यवस्थित गर्ने, शौचालयको समस्या समाधान गर्ने र मैदान परिसरमा धुलो नियन्त्रण गर्ने कामलाई समेत प्राथमिकता दिइएको क्यानले जनाएको छ।

दशैं–तिहारजस्ता मुख्य चाडपर्वको बीचमा प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ रहेकाले दर्शकको उत्साहमा कमी नआउने क्यानको विश्वास छ।

विदेशी चर्चित खेलाडीको सहभागिताले पनि एनपीएलप्रतिको आकर्षण थप बढ्ने खड्काले बताउनुभयो।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।