कालिकोट, ७ असार । पोखराका केही युवा विद्यार्थी मिलेर कर्णाली प्रदेशको कालीकोटको विद्यार्थीका लागि पुस्तक अभियान चलाएका छन् । पुराना र नयाँ पुस्तक सङ्कलन गरेर विद्यार्थीहरूले कालीकोटका विद्यार्थीका लागि अभियान चलाएका हुन् । कक्षा १२ को परीक्षा सकेर उनीहरू अभियानमा लागेका हुन् ।
एजुकेट नेपाल नारा दिएर अभियान अगाडि बढाएको अभियानका सदस्य देव भुजेलले बताउनुभयो । उहाँसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदीप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेल अभियानमा जुट्नुभएको छ ।
पोखरामा सङ्कलन गरिएको किताब–कापी कर्णाली प्रदेशको कालीकोटको विभिन्न गाउँपालिकाका विद्यालयमा वितरण गर्ने अभियानका सदस्य स्मित लामिछानेले बताउनुभयो । अहिलेसम्म कक्षा ५ देखि १० सम्मका विभिन्न विषयका चार हजार किताब सङ्कलन भएको छ ।
सङ्कलन गरेका किताब, कापी र कपडा लिएर उनीहरू आज मङ्गलवार कर्णालीतिर हिँडेका छन् ।किताब नपाएर विद्यार्थीले पढ्न नपाएको समाचारमा सुनेका थियौँ’, अभियानका सदस्य देव भुजेलले भन्नुभयो, कक्षा १२ को परीक्षा सकिने बित्तिकै अभियान सुरु गरेका हौँ ।’ अभियान थाहा पाएपछि सबैले खुसी हुँदै सहयोग गरेको उहाँले बताउनुभयो । केही व्यक्तिले रकमसमेत सहयोग गरेको उहाँको भनाइ छ । सङ्कलन भएका किताब, कापी र कपडा सम्बन्धित विद्यार्थीलाई नै दिने अभियानका अर्का सदस्य कृष्ण पौडेलले बताउनुभयो । ढुवानीका लागि मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने उहाँले सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्