जनता टाइम्स

८ असार २०७९, बुधबार १९:०५

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित


काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रिय सभा गृहमा सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७९्८० को नीति तथा कार्यक्रम आज सर्वसम्मतले पारित भएको हो ।

मेयर साहले काठमाडौंको स‌ंस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । ‘सांस्कृतिक सहर समृद्ध नगर’ को मूल नारा बोकी महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै महानगरलाई हराभरा बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनसँगै भौतिक पूर्वाधार विकास, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशीलता, कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार, फोहोरमैला व्यवस्थापनलगायत लैंगिक समानता र सामाजिक समावेशीकरणलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

यसैगरी महानगरभित्र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको विश्रामका लागि बस स्टपमा फल्चा निर्माण गर्ने कार्यक्रममा छ। उनले डबलीहरू पनि पुनर्स्थापना गर्ने भनिएको छ भने स्थानीय एैलालाई ब्राण्डिङ गरी अन्तराष्ट्रियकरण गर्ने नीति लिइएको छ । यसैगरी बृद्धबृद्धाहरुको लागि सुविधा नै सुविधा दिने नीति लिइएको छ ।