जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १९:४६

अखिलको साहशिक निर्णय : चन्दा उठाउन प्रतिबन्ध


काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी शैक्षिक संस्थाहरुसँग कुनै पनि आर्थिक सहयोग नमाग्ने र नलिने निर्णय गरेको छ । अखिलले कुनै पनि नेता तथा कार्यकर्ताले संगठन वा व्यक्तिगत रुपमा चन्दा उठाउन समेत रोक लगाएको छ ।

अनेरास्ववियूका संयोजक ऐन महरले बुधबार राजधानीमा साबिक अनेरास्ववियू र अखिल क्रान्तिकारीका उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । आज पत्रकार सम्मेलन नै गरेर संयोजक महरले सो जानकारी दिनुभएको हो । विद्यार्थी आन्दोलन बद्नाम हुन नदिन र नेता कार्यकर्तालाई भ्रष्टिकरण हुन नदिन कुनै पनि निजी शैक्षिक संस्थाबाट आर्थिक सहयोग लिन नपाइने निर्णय गरिएको उहाँको भनाई थियो । महरका अनुसार अव आर्थिक संकलन गर्ने जोसुकै सदस्यमाथि अनुशासनको कारबाही हुनेछ ।

पत्रकार सम्मेलनमा महरले विद्यार्थी आन्दोलनमाथि बिभिन्न कोणबाट प्रश्न उठेकाले नयाँ ढंगबाट जानका लागि चन्दा र आर्थिक सहयोग बन्द गरिएको बताउनु भयो । ‘अनेरास्ववियूले कुनै पनि निजी स्कूल र कलेज सन्चालकसँग एक रुपैया पनि चन्दा लिन नपाउने र कुनै सदस्यले व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि आर्थिक सहयोग लिएमा कारावाही गर्ने निर्णय गरिएको छ,’ पत्रकार सम्मेलनमा महरले भन्नुभयो । उहाँका अनुसार अव कुनै निजी शैक्षिक संस्था सन्चालकसँग व्यक्तिगत सम्बन्धका आधारमा पनि आर्थिक सहयोग लिन पाइने छैन ।

निजी शैक्षिक संस्थाहरुसँग आर्थिक सहयोग माग्दा विद्यार्थी आन्दोलन नैतिक रुपमा कमजोर हुने र मनपुरी शुल्क बृद्धिको बिरोधमा आन्दोलन गर्ने नैतिक साहस समेत नहुने अवस्था आउन थालेपछि यस्तो निर्णय लिनुपरेको अखिलले जनाएको छ । अवदेखि तीनपुस्ते नाता खुलाएर लेनदेनबाहेक अनेरास्ववियूमा आबद्ध नेता कार्यकर्ताले कार्यालय सन्चालन, कार्यक्रमहरु चलाउने वा अधिवेशनहरुको नाममा पैसा उठाउन नपाइने महरले बताउनु भयो । उहाँले संगठन सन्चालनका लागि कार्यकर्ताबाट लेबी उठाउने र पार्टीसँग समन्वय गर्ने बताउनु भयो ।