जनता टाइम्स

९ असार २०७९, बिहीबार १८:४१

भ्रम चिरियो भन्दै एमाले प्रवेशको तयारीमा गौरका पूर्वमेयर गुप्ता


भक्तपुर, असार ९ । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने हुनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार हुनुभएको हो ।

पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले एमाले प्रवेश गर्न लाग्नु भएको हो । मधेसी जनताप्रति बिगतमा फैलाइएको भ्रम अव चिरिएको र एमाले मात्र मधेशको हित चाहने सच्चा पार्टीको रुपमा कामबाटै प्रमाणित भएको कारण पनि आफूले एमाले रोज्न लागेको बताउनु भयो ।

गौर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर हो । आगामी निर्वाचनमा माधवको गृहनगर रहेको रौतहट १ मा मा एमालेलाई जिताउने योजनासहित गुप्ता एमाले प्रवेश गर्न लाग्नुभएको उहाँ निकट नेताहरुले बताएका छन ।