जनता टाइम्स

९ असार २०७९, बिहीबार १९:५६

महान् फुटबल खेलाडीको निधनबारे स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने


काठमाडौं, ९ असार । अर्जेन्टीनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ। एउटा छानबिन समितिले उहाँको उपचारमा व्यापक ‘कमजोरी र अनियमितता’ देखिएको पाएपछि एक न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिनुभएको हो ।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो । सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उहाँलाई सुधार भइरहेको थियो।

निधनपछि अनुसन्धान

उहाँको निधन भएको केही दिनपछि अर्जेन्टीनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए । गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले ‘अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार’ ढङ्गले काम गरेको पाएको थियो।

अदालतका अनुसार उक्त प्यानलले भनेको थियोः यदि उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना ‘बाँच्ने राम्रो सम्भावना हुन्थ्यो’। मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन् । आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन् ।

अभियोग पुष्टि भएमा प्रत्येकले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समय चाहिँ तय भइसकेको छैन। निधन हुने बेला महान्‌ खेलाडीको अवस्था ‘कतैबाट सहयोग नपाएको जस्तो’ देखेको म्याराडोनाका छोरामध्ये एकका वकिल मारिओ बाउड्रीले समाचार संस्था रोयटर्सलाई बताउनुभयो ।

‘कारण हेर्नासाथ मैले यो त लापरबाहीपूर्ण हत्या हो भनेँ। मैले लामो लडाइँ लडेर आज यहाँ पुगेका छौँ, एउटा चरण पूरा भएको छ,’ उहाँले भन्नुभयो । म्याराडोनाकी दुईजना छोरीले गरेको एउटा उजुरीले कानुनी प्रक्रिया अघि बढाउन लगायो । मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुवाको गरिएको उपचारबारे उनीहरूले चासो व्यक्त गरेका थिए ।

सर्वकालिक महान्

एउटा भावुक पत्रकार सम्मेलनमा उहाँका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय अपनाएको बताउनुभएको थियो । डिएगो म्याराडोनालाई विश्वका सर्वकालिक महान् फुटबल खेलाडीमध्ये एक मानिन्छ । सन् १९८६ मा आर्जेन्टीनाले विश्वकपको उपाधि उचाल्ने बेला उहाँ राष्ट्रिय टोलीका कप्तान हुनुहुन्थ्यो । क्वार्टर फाइनलमा इङ्ग्ल्यान्डविरुद्ध उनले प्रहार गरेको एउटा गोल निकै चर्चित बनेको थियो । ‘ह्यान्ड अफ गड’ नामले त्यो गोल चर्चित छ ।

आफ्नो खेलजीवनको उत्तरार्द्धतिर कोकेनको कुलतमा फसेका म्याराडोना सन् १९९१ मा परीक्षणका क्रममा पोजिटीभ पाइएपछि १५ महिनाका लागि प्रतिबन्धमा पर्नुभयो । म्याराडोनाको निधनको खबरले विश्व फुटबल जगत्‌ र उहाँको देशमा ठूलो शोक निम्त्याएको थियो । उहाँलाई अन्तिम बिदाइ गर्न मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए । भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो ।