जनता टाइम्स

१० असार २०७९, शुक्रबार ०६:५२

सूचीलाई कारगारको एकान्तवासमा सारियो


म्यानमार, १० असार। म्यानमारी सत्ताच्यूत नेतृ आङ सान सूचीलाई एकान्त कारावासमा राखिएको छ। यसअघि नजरबन्द गरिएकी उनलाई राजधानी नेपिडस्थित जेलमा सारिएको हो ।

७७ वर्षीय सूचीलाई फेब्रुअरी २०२१ मा सेनाले कू गरेपछि गिरफ्तार गरिएको थियो। अहिलेसम्म उनलाई राजधानीमै अज्ञातस्थलमा नजरबन्दमा राखिएको थियो।बुधबार जेलभित्रै बनेको विशेष संरचनामा उनलाई सारिएको बताइएको छ।

सत्ताच्यूत राष्ट्रपति विन मिन्ट पनि सोही स्थानमा एकान्त कारावासमा छन्। स्रोतका अनुसार सू चीलाई जेलमा तीन जना महिला सहयोगी खटाइएको छ। उनलाई ११ वर्ष जेल सजाय सुनाइएको छ।

तर, उनले आफूमाथिका आरोपहरु राजनीतिक आग्रहप्रेरित भएको बताएकी छन्। एकान्त कारावासमा उनी पहिले भन्दा एक्लो हुनेछिन्। उनलाई अदालती सुनुवाइमा जेलभित्रैबाट सहभागी गराइने बताइएको छ। सरकारले उनलाई जेल सारिएको पुष्टि गरेको छ।

मानवअधिकारवादी समूहहरुले उनीको सुनुवाइ गुप्त राखिएकोमा विरोध जनाएका छन्। सू चीका वकिलहरुलाई पनि पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको छ ।