जनता टाइम्स

१० असार २०७९, शुक्रबार १३:३८

नेकपा एसका चार मन्त्रीसहित १० सांसदले पोखे माधवबिरुद्ध ८ बुँदे आक्रोश, मन्त्रीबाट फिर्ता नहुने घोषणा (पूर्णपाठ)


काठमाडौं, असार १० । नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना प्रतिनिधिसभा सदस्यहरुले अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको ब्यवहार कदापी ठीक मान्न नसकिने भन्दै आक्रोश पोखेका छन ।

उपाध्यक्षसमेत रहनुभएका स्वास्थ्यमन्त्री बिरोध खतिवडा, सचिव तथा सहरी बिकाशमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किशान श्रेष्ठसहितका सांसदहरुले आज अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै कडा आक्रोश पोख्नुभएको हो ।

‘पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन,’ पत्रमा भनिएको छ । सो पत्रमा चार मन्त्रीका अलवा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरुले हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी मन्त्री फिर्ताका लागि गरिएको दवाव पनि अनुचित रहेको पत्रमा जनाइएको छ । ‘गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । पत्रमा पार्टी निर्णय मान्न नसकिने प्रष्ट पार्दै संसदीय दलको बैठक बोलाएर निर्णय लिन माग गरिएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र

१. आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

२. पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन ।

३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।

४. मन्त्रीहरूले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं ।

५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

७. मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।

८. यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।