हेटौंडा, १६ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्ष संकलन सुरु भएको छ । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन गरिएको हो । पाण्डेले केन्द्रको निर्देशन बिना सहजै पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीका सांसदले आफ्ना हस्ताक्षर संकलन गरेको हो ।
यसअघि गठबन्धनको सहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफू मुऋयमन्त्री बन्नका लागि लाग्नुभएको हो । पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
पाण्डेलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो । प्रदेशमा माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको छ । गोप्य स्रोतका अनुसार माओवादी सांसदको हस्ताक्षर सांसद युवराज दुलालले संकलन गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्