जनता टाइम्स

१८ असार २०७९, शनिबार १४:१२

स्वतन्त्र उम्मेदवारहरुको गठबन्धन बनाउने प्रस्ताव : मिसन १६५ सञ्चालन गर्ने उदघोष (पूर्णपाठ)


ललितपुर, असार १८ । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ ।

अभियानका संयोजक डम्बर साहुले आज आयोजित बिशेष भेलामा अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गर्नुभएको हो ।

साहुले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गर्नुभएको छ । ‘अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौं,’ अवधारणापत्रमा भनिएको छ ।

देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय तथा सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख छ ।

‘स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिदैन । तसर्थ भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोश मापदण्ड बनाउनुपर्छ’ अवधारणापत्रमा भनिएको छ । स्वतन्त्र उम्मेदवारी समूहले उम्मेदवारको १३ वटा मापदण्ड पनि बनाएको छ ।

समानुपातिकमा पनि आँँखा

स्वतन्त्र उम्मेदवारी अभियानले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ कसलाई मत माग्ने भन्ने विषय चुनौतीको रुपमा देखिएको बताएको छ । अवधारणापत्रमा प्रत्यक्ष तर्फको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मत माग्दा समानुपातिक निर्वाचन प्रणालीमा कसलाई मत माग्ने भन्ने विषय छिटो टुंग्याउनुपर्ने स्थिति आएको उल्लेख छ ।

‘प्रत्यक्षमा स्वतन्त्रमा मतदान गर्नोस भन्दै गर्दा समानुपातिक मतको सन्दर्भमा हामीले मतदातालाई के भन्ने ? यसको उचित समाधान आगामी निर्वाचन अघि नै खोज्नुपर्नेछ,’ अवधारणापत्रमा भनिएको छ ।

त्यसका लागि दल खोल्ने वा कुनै अरु नै दललाई मत माग्ने भन्ने द्विविधा रहेको अवधारणापत्रमा जनाइएको छ । ‘प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गरेर समानुपातिकमा कुनै दललाई भोट हाल्ने वा समानुपातिकका लागि नयाँ दल वा मोर्चा खोलेर निर्वाचन आयोगमा दर्ता गराउने । यी दुई विरीत प्रश्नहरुको उचित समाधान आवश्यक छ,’ अवधारणापत्रमा भनिएको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले कुनै पार्टीको सदस्य नरहेको, निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन भन्दा अगावै पार्टी परित्याग गरेको व्यक्तिलाई स्वतन्त्र मान्न सकिने उल्लेख गरेको छ । तर राजनीतिक दलबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएको व्यक्ति स्वतन्त्रको परिभाषाभित्र नपर्ने पनि प्रष्ट पारेको छ ।

पढनोस अवधारणापत्रको पूर्णपाठ