जनता टाइम्स

१९ असार २०७९, आईतवार १९:१०

डिलाशैनी गाउँपालिकाले हटायो ६० कर्मचारी


बैतडी, १९ असार । बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करार कर्मचारीलाई हटाउने भएको छ । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले २०७८ चैतमा चुनावको मुखमा विना विज्ञापन नियुक्त गरिएका कर्मचारीहरू हटाउने निर्णय गरेका हौं । उनीहरूको ठाउँमा हाम्रा मान्छे राख्न हटाइएको होइन ।’

१७ असारमा बसेको गाउँकार्यपालिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भट्टले बताउनुभयो । हटाउने प्रक्रियामा रहेका करारका कर्मचारीलाई साउन १ गतेबाट तलवभत्ता नदिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘पारिश्रमिक खुवान सक्ने अवस्था छैन । यसअघिको तलब पनि जेनतेन जनप्रतिनिधिको सेवासुबिधा र लक्षितवर्गको बजेटबाट कटौती गरेर खुवायौँ ।’

हटाइएका कर्मचारीमा ३० पुस २०७८ को कार्यपालिका बैठकको निर्णयको आधारमा १ चैतमा नियुक्ति दिएको पाइएको डिलाशैनी–७ का वडाध्यक्ष प्रकाशमणि भट्टले बताउनुभयो । अघिल्लो सरकारले आवश्यकता नभएको ठाउँमा करारमा कर्मचारी भर्ना गरेकाले हटाउन बाध्य भएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताउनुभयो । ‘अदक्ष कर्मचारी राख्नु हुँदैन । हामीले हटाएका मध्ये अधिकांश कर्मचारी आवश्यकताको अध्ययन नै नगरेर राखिएका छन् ।

उनीहरूलाई हटाउन कुनै समस्या छैन । हामीले चुनावका बेलासमेत पहुँचका आधारमा भर्ना गरिएका कर्मचारी हटाउने र हाम्रो मान्छे पनि त्यसरी भर्ना नगर्ने भनेरै जनताको भोट पाएका हौं । बोलेका कुरा अहिले कार्यान्वयन गरिरहेकाछौं । नियम विपरीत भएका कामको छानबिन गर्ने छौं,’ उहाँले भन्नुभयो । गाउँपालिकाले हटाउने करारका कर्मचारीमा शिक्षक तथा विद्यालय कर्मचारी, सामाजिक परिचालक, प्राविधिक र कार्यालय सहयोगी रहेका छन् ।

हटाउने कर्मचारीमा ४० जना शिक्षक छन् । अझै पनि आवश्यकता महसुस भएका क्षेत्रमा कर्मचारी राख्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बोहराले बताउनुभयो । विकासे बजेटबाट समेत तलब खुवाउनु पर्ने भएकाले करारका कर्मचारीहरू हटाउनु परेको उहाँले बताउनुभयो । ‘अनुगमन गर्छौं, त्यसपछि आवश्यकता बिनाका कर्मचारीको करार अवधि थपिँदैन,’ उहाँले भन्नुभयो । हटाएका केही कर्मचारी भने गाउँ कार्यपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्ने तयारीमा रहेका छन् ।