जनता टाइम्स

२० असार २०७९, सोमबार १५:४९

ओलीले राखे सत्ता गठबन्धन देशका लागि अभिषाप बनेको यो तथ्य


काठमाडौं, असार २० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धन देशका लागि अभिषाप भएको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बिशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले अनाधिकृत मानिसलाई मध्यराती बोलाएर करको दायरा हेरफेर गर्नेदेखि छिमेक सम्बन्ध बिगारेको भन्दै पाँच दलीय गठबन्धन मुलुकका लागि नै अभिषाप बनेको तथ्य राख्नुभएको हो ।

संसदमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक, राष्ट्रियता, अर्थतन्त्रका हिसाबले यो गठबन्धन अभिशाप भएको बताउनु भयो । ‘यो गठबन्धन यो देशका लागि अभिषाप हो । किसानले मल पाउँदैनन् । सेयर बजारमा निकै समस्या छ । सरकार गठबन्धन टिकाउने संकल्पमा मात्रै छ ओलीले भन्नुभयो, ‘स्वास्थ्य विमा कार्यक्रमलवाई समाप्त पार्दै लगिएको छ । ’

ओलीले आफ्ना स्वार्थहरुको खेती गर्ने ठाउँ हो यो देश ? भन्दै सरकारसँग कडा प्रश्न सोध्नुभयो । अहिलेसम्म गठबन्धनले देशको हित हुने गरी कुनै काम नगरेको उहाँको भनाई छ । ‘वर्तमान सरकार जनताको हितमा काम गर्दैन । स्वार्थले जगडिएको छ,’ ओलीले भन्नुभयो ।

राज्य स्वेच्छाचारी भयो, देशमा न्याय नपाउने अवस्था देखियो

एमाले अध्यक्ष ओलीले यो गठबन्धनपछि राज्य अति स्वेच्छारी भएको र न्याय नपाउने अवस्था बनेको पनि बताउनु भयो । ओलीका अनुसार राज्यका अंगहरु कब्जा गरेर स्वेच्छाचारी लादिएको छ ।

‘महान्यायाधिवक्ताले उधुम मच्चाउनुभयो । फोन गरेर यो गर, त्यो गर भन्नुभयो । बुढीगण्डकीमा यस्तो प्रेसर गरियो कि फेरि निर्वाचन गर्नुपर्ने अवस्था आयो । निर्वाचनमा देशभरी प्रहरी कसरी परिचालन गरियो ? सवैलाई थाहै छ,’ ओलीले भन्नुभयो ।

उहाँले अछाममा २६ वर्षीय विनोद शाहीको हत्या गरिएको र अपराधी नछुटोस भनेर पीडित परिवारले खबरदारी गर्दा लाठी चार्ज र तीव्र दमन गरिएकोमा पनि ओलीले कडा आपत्ति जनाउनु भयो ।‘टीयू प्राध्यापकमाथि हमला गर्ने, अंगभंग गर्नेलाई छुटाउने प्रयास भइरहेको छ, न्याय नपाउने अवस्था अहिले देशमा देखिएको छ,’ गठबन्धन सरकारको ज्याद्धतीपूर्ण कामको सूची राख्दै ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धनले परमादेशबाट सत्ता हत्याएपछि विकास निर्माणमा देश निरन्तर अधोगतितर्फ गएको तथ्यांक पनि राख्नुभयो । ‘विगार्नेबाहेक केही काम भएको छैन । राज्यको स्थायित्व र सबै अंगमा हमला भएको छ । संसदका मर्यादाहरु उल्लंघन गरिएको छ । भंग भएको छ,’ अध्यक्ष ओलीले थप्नुभयो, ‘राज्य यति स्वेच्छाचारी भयो कि विरोधीमाथि कुनै कानुनबिना दमन गरिएको छ । बजेटमा बिचौलिया राखेर विरोध गर्दा थर्काउने ? दुनियाँले आवाज उठाएको फुटेज मेटियो कसरी न्याय हुन्छ ? यो भन्दा बलमिच्याइँ के हुन्छ ?’

वर्तमान सरकारले नेपाल प्रहरीमा वेथिति बढाएको पनि ओलीले बताउनु भयो । ‘तथाकथित मूल्यांकन गरिएको छ । कुनै आधार छैन । पछाडिबाट मान्छे ल्याइएको छ । प्रहरी प्रशासनमा आफ्ना मान्छे राखेको छ । यति हुँदा कोही पनि लज्जाबोध गर्दैन । मन्त्री, संवैधानिक निकायको मान्छे र महान्यायाधिवक्तामा कोही बोध छैन । खुलेयाम छ,’ ओलीले भन्नुभयो ।

महंगी र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दा युवा विद्यार्थीहरुमाथि कुटपिट र दमन भएको भन्दै ओलीले राज्यले दमनकारी नीति लादेको बताउनु भयो ।

छिमेक सम्बन्ध बिगार्ने काम गर्यो

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धमा अत्यन्तै गैरजिम्मेवार देखिएको दृष्टान्त पनि राख्नुभयो । ‘अत्यन्तै गैरजिम्मेवार ढंगले छिमेक सम्बन्ध बिगार्ने काम यो सरकारले गरेको छ,’ ओलीले भन्नुभयो, ‘एमाले कसैको नजिक र टाढा होइन, राष्ट्रिय हितप्रति प्रतिबद्ध छ। छिमेकप्रति इमान्दार छ, देखाउने एउटा, लुकाउने एउटा होइन समनिकटताको सम्बन्ध राख्छौं। पन्चशील र असंलग्न सिद्धान्तमा न्यायोचित÷ भरपर्दो सम्बन्ध राख्छौं ।’

आर्थिक, राजनीतिक, कुटनीतिसम्बन्धी नीति राष्ट्रिय हितमा हुनुपर्ने ओलीको भनाइ थियो । ‘छिमेक सम्बन्धमा यो सरकार गैरजिम्मेवार देखियो । यसले हामीलाई पछिसम्म अफ्ठेरो पार्छ,’ ओलीको भनाई थियो । ओलीले राष्ट्रियताको सवालको प्रश्नमा जिम्मेवार हुन सरकारलाई आग्रह पनि गर्नुभयो । एमसीसीमाजस्तो दोहोरो चरित्र नदेखाउन उहाँले सत्ता गठबन्धनलाई आग्रह गर्नुभएको हो ।

‘विगतमा सडकमा मान्छे उफारिएफो छ, भत्काइएको छ । अर्कोतिर फ्रन्ट सिटमा बसेर हुन्छ भनिएको छ । एमसीसीलाई मर्यादा नाघेर प्रम र पूर्वप्रमले पत्र लेख्छन । पदीय मर्यादा पनि ख्याल गर्दैनन । अचाक्कली भयो,’ ओलीले भन्नुभयो ।

कांग्रेस–माओवादीले अघि बढाएको एसपीपी मैले स्टप गरेको हो

एमाले अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का सन्दर्भमा पनि सरकार बेइमान रहेको तथ्य राख्नुभयो । उहाँले एसपीपीबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौतीसमेत दिनुभएको छ ।

राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने उहाँको भनाइृ छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफ्नो पहिलो माग नै यही रहेको भन्दै एसपीपीको बारेमा क–कसको पालामा के–के भयो ? सत्य तथ्य बाहिर ल्याउनुपर्ने अडान राख्नुभयो ।

‘कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने होइन, सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ र यो काम सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । तत्कालीन सेनापति छन सोधे हुन्छ । यो कुनै गठबन्धनको विषय होइन राष्ट्रको विषय हो,’ ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले एसपीपीका सन्दर्भमा सन् २०१५ देखि सुरू भएका सिलसिला सुनाउँदै ओलीले सुशिल कोइरालाका पालामा सुरू भएर प्रचण्ड र शेरबहादुर देउवाका पालामा पत्राचार अघि बढेको बताए । ओलीले २०७६ जेठमा एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसम सामेल भएको रिपोर्ट आएपछि आफ्नो सरकारले त्यसलाई रोकेको बताउनु भयो ।

तत्कालीन रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले तत्कालै स्टप गरेको भन्दै ओलीले यसबारेमा यथार्थ जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो ।