जनता टाइम्स

२० असार २०७९, सोमबार १७:१८

मेयर हमालले उपमेयरलाई अपमान गरेपछि धनगढी नगरसभामा तनाव, कुर्सी हानियो


कैलाली, असार २० । धनगढी उपमहानगरपालिकाको आठौं नगरसभाको तेस्रो बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की भएको छ । आज दिउँसो २ बजे सुरु भएको बैठकमा चर्काचर्की भएको हो । मेयर गोपाल हमालले उपमेयरको अपमान गरेपछि भएको चर्काचर्कीको क्रममा एक सदस्यले कुर्सी हानेका हुन ।

आज नगर प्रमुख गोपाल हमालले मन्तव्य राखेसँगै बैठक सुरू भएको थियो । हमालले उपमहानगरपालिकाले ल्याएको १ अर्ब ९३ करोड बजेटबाट केही दायित्वका कारण १० करोड काट्नुपरेको बताउनु भयो । त्यो कुन–कुन शीर्षकमा काटियो भन्ने कुराहरू अहिलेको बजेटमा रहेको उहाँले बताउनु भयो ।

‘बजेट काट्नुपर्दा दुःख लागेको छ, धेरै मान्छेको दबाबका कारणले यो पनि काम गर्नुपर्यो, त्यो पनि गर्नु पर्यो भन्ने माग आएका छन्,’ हमालले भन्नुभयो, ‘आफ्नो इच्छा भए पनि पाँच सय मिटर सडक समेत बनाउन सक्ने अवस्था यो बजेटमा छैन। पुराना दायित्व तिर्ने र पुराना योजनालाई सम्पन्न गर्ने यो वर्षलाई त्यसको रूपमा राखेका छौं ।’

हमालले धनगढी उपमहानगरपालिकाको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ माथि छलफल गर्न कार्यदललाई अनुमति दिनुभएको थियो । त्यसपछि मन्तब्य राख्नुभएकी उपप्रमुख कन्दकला रानाले योजना तर्जुमा र बजेट बनाउने बेलामा मेयरले आफूसँग समन्वय नगरेको भन्दै आपत्ति जनाउनु भयो ।

‘बजेट, योजना तर्जुमा र नीतिका कुराबारे कुनै सरसल्लाह छैन । मेयर सापले नीति बनाउँदाखेरी बनाउनुभयो, मेयर सापको अधिकारको कुरा हो, मैले समर्थन गरें, त्यही नीतिलाई टिकेर आएको बजेट तर्जुमाको संयोजक उपमेयर हो तर धेरै पटक सम्पर्क गर्न खोजें, कहाँ हुनुहुन्छ ? मेयर साप भनेर, हाकिम र मेयरसाप बसेर अन्तै कार्यक्रम बनाउनुभयो,’ रानाले भन्नुभयो ।

उहाँले संविधानले दिएको हक र अधिकार किन खोसियो भन्दै प्रश्न गर्नुभयो । उपमेयर रानाले प्रमुख प्रशासकीय अधिकृत र मेयरले फोन नउठाउने गरेको बताउनु भयो । त्यसपछि पुनः बोल्दै मेयर हमालले ‘हामी बसेका ठाउँमा उहाँ मेडम आफैं गएर उहाँले बनाएको बजेट हो,’ भन्नुभयो ।

हमालले त्यो बजेट कार्यपालिकामा आएर प्रस्तुत भएको बताउनु भयो । योजनाहरू सम्बन्धित शाखाबाट विज्ञले बनाए अनुसार हालिएको प्रष्ट पार्नुभयो । ‘योजना शाखाका विज्ञहरूले योजना बनाएका हुन, बजेटमा मेरो कुनै स्वार्थ छैन, बजेट काट्नु परेकाले १० दिन लाग्यो । कर्मचारीलाई सोधेर बजेट काटिएको हो,’ हमालले भन्नुभयो । हमालले फुर्सद नभएर उपमेयरसँग थप छलफल गर्न नसकेको बताउनु भयो ।

‘म आफ्नै काममा व्यस्त हुन्छु, उहाँ सम्पर्कमा आउने हो, मेरो काम उपमेयरको कोठामा रिपोर्टिङ गर्न जाने होइन, मान्छे आको आई हुन्छ गाडी चढ्दा खेरी पनि हात समात्न आउँछन्,’ हमालले भन्नुभयो ।

मेयर हमालले उपमेयर रानाले पार्टीको दम्भ देखाएको भन्दै विरोध जनाउनु भयो । ‘हाम्रो पछाडि दल छ, गोपाल हमालको पछि को छ भन्नुहुन्छ, म के टीका लगाएर आको हो र ? मलाई २६/२७ हजार भोट दिएर जितेको हो कि होइन ?’ हमालले भन्नुभयो ।

मेयर र उपमेयरको चर्काचर्कीपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमयेरलाई हरहालतमा अपमानित हुन नदिने बतउनु भयो । ‘हामी उपमेयरलाई हरहालतमा अपमानित हुन दिँदैनौं, कतै त्यस्तो भए क्षमा चाहन्छौं’, श्रेष्ठले भन्नुभयो । उपमेयर रानाले हमालले धम्की दिएको समेत आरोप लगाउनु भयो । मेयर हमालले द्वन्द्व गर्न चाहे सामना गर्न तयार रहेको घोषणा पनि रानाले गर्नुभयो ।

मेयर/उपमेयरको चर्काचर्की परेपछि अरू नगरसभा सदस्यहरूले विरोध जनाउनु भएको थियो । नगरसभा सदस्यहरूले मेयर र उपमेयरकै विवाद भइरहने हो भने अरू सदस्य किन बैठकमा बसिरहने भन्दै प्रश्न गर्नुभयो । उनीहरूले आ–आफ्नो ठाउँमा उठेर विरोध जनाए । त्यसपछि मेयर हमालले सभालाई मर्यादिन बनाउन आग्रह गरे।

हलमा सबै सदस्यहरू उठेर बोलाबोल हुन थालेपछि एक जना सदस्यले कुर्ची उठाएर फालेका थिए । त्यसैबीच हात हालाहालको अवस्था आउन नदिन सदस्यहरूले एक–अर्कालाई आग्रह गरेका थिए । केहीबेर रोकिएको बैठक पुनः सञ्चालन भयो । सोपछि आर्थिक वर्ष २०७९/८० को वार्षिक अनुमानित आय–व्यय प्रस्तुत भएको थियो ।