काठमाडौं, असार २२ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेको हो ।
समितिमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण र शक्ति बस्नेत हुनुहुन्छ । यस्तै सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव समितिमा रहनुभएको छ । समिति गठनअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत राजनीतिक दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । प्रतिनिधिसभा बैठक बुधबार ११ बजे बस्ने भनिएको थियो । तर, दलहरूबीच सहमति हुन नसक्दा करिब ४ बजे बैठक बसेको हो ।
बजेटमा करका दर हेरफेर गर्नेक्रममा जेठ १४ गते अर्थमन्त्री शर्माले अनधिकृत तथा व्यापारीका प्रतिनिधि राखेको आरोप लागेको छ । सोही विषयलाई लिएर संसद् र सडकमा प्रमुख प्रतिपक्षी एमालेले आवाज उठाएको थियो । उक्त दिनको सीसीटीभी फुटेज डिलिट गरिएको भन्ने सूचना आएपछि कांग्रेसका सांसदहरूले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने माग गरेका थिए । एमाले अडानको कारण आज समिति बनेको हो ।













प्रतिक्रिया दिनुहोस्