जनता टाइम्स

२३ असार २०७९, बिहीबार १७:३८

राष्ट्रको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्छ : अध्यक्ष ओली


काठमाडौं, असार २३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको हितलाई ध्यानमा राखेर सार्वभौमसत्ता, स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमा अडिग भएर अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनु भएको छ ।

एमाले परराष्ट्र मामिला विभागको आज बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीको यस्तो धारणा राख्नुभएको हो ।
बिभागको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा बसेको हो । एमाले केन्द्रीय प्रचार बिभागका अनुसार बैठकलाई अध्यक्ष ओलीले निर्देशनात्मक सम्वोधन गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष ओलीले सरकारमा नरहँदा पनि पार्टीले विभिन्न देश र विभिन्न देशका मित्र पार्टीहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउने दिशामा काम गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर सार्वभौमसत्ता, स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमा अडिग भएर अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउँदै लैजानुपर्ने वताउनुभयो ।

अध्यक्ष ओलीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा विभागले समय समयमा छलफल आयोजना गरी कूटनीतिक क्षेत्रमा काम गर्ने, चासो राख्ने साथीहरूलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–विदेश भ्रमणका समयमा पालना गर्नुपर्ने मर्यादाका बारेमा राम्रोसँग जानकारी हुनु आवश्यक छ ।

बैठकमा परराष्ट्र मामिला विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले विभागको कामका सम्बन्धमा रिपोर्टिङ गर्नुभएको थियो । सो अवसरमा हालै चेक गणतन्त्रको राजधानी प्रागमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज’ (आइक्याप) स्थायी कमिटीको बैठकले गरेका निर्णयहरुको बारेमा उहाँले जानकारी गराउँदै आगामी बर्ष उक्त स्थायी कमिटीको बैठक र एसिया–यूरोप राजनीतिक फोरमको पाँचौ बैठक नेपालमा हुने जानकारी गराउनु भएको थियो ।

परराष्ट्र मामिला विभाग प्रमुख भट्टराई प्रागमा भएको उक्त कन्फरेन्सबाट एसिया–यूरोप राजनीतिक फोरमको अध्यक्ष निर्वाचित हुनु भएको थियो । विभागको बैठकले बार्षिक कार्ययोजनासमेत पारित गरेको छ ।