काठमाडौं, असार २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले त्यस्तो काममा नलाग्ने निर्णय पनि गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी र सचिवालयको निर्णय कार्यान्वयनका लागि आइतवार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–४ मा यस्तो निश्कर्ष प्रस्तुत गर्नुभएको हो । अपानिमा तत्काल गठबन्धन भत्काउनेतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाइएको छ ।
‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ अपानिमा भनिएको छ ।
एमाले अध्यक्ष ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन् । ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ ओलीद्वारा जारी अपानिमा भनिएको छ, ‘हाम्रो पंक्तिलाई आफ्नो शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’ एमालेले स्थानीय तहमा अपेक्षित परिणाम नआउनुको मुख्य कारण समेत औल्याएको छ ।
अपेक्षित परिणाम प्राप्त हुन नसक्नुका मुख्य कारणहरु
लोकप्रिय मतमा सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रुपमा स्थापित हुनुतर सिट सङ्ख्याका हिसाबले दोस्रो स्थानमा सीमित हुन पुग्नु भने हाम्रा लागि गम्भीर र सोचनीय विषय हो । यसको एउटै निष्कर्ष हो– जनताको मनमा हाम्रो पार्टीप्रति विश्वास, भरोसा र समर्थन यथावत् छ (अझ बढिरहेको छ), तर त्यसलाई सही ढङ्गले सम्मान गर्ने, कुशल व्यवस्थापन गर्ने र त्यसलाई निर्वाचन परिणाममा ढाल्ने हाम्रो क्षमतामा भने गम्भीर समस्या देखापरेका छन् । यसका विभिन्न कारणहरु छन् ।
१. विभिन्न कारणले हामीले कमिटी प्रणाली र सङ्ठनात्मक जीवनमा समस्याहरु झेल्दै आयौं । लामो समय अभियानमै केन्द्रित हुनुपरेको अवस्था (नवौं महाधिवेशनदेखि नै संविधान निर्माण, भूकम्पपीडितहरुको सेवामा स्वयंसेवक परिचालन, नाकाबन्दीको विरोध, मेची–महाकाली राष्ट्रिय अभियानलगायत) रह्यो । त्यसपछि स्थानीय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा शृङ्खलाबद्ध रुपमा केन्द्रित हुनुप¥यो । पार्टी एकीकरणको तयारी, एकीकरण, त्यसलगत्तै केन्द्रीय कमिटीबाहेक सबै कमिटी भङ्ग गरिएपछि उत्पन्न कमिटीबिहीन अवस्था, कमिटी एकीकरणमा उत्पन्न जटिलता, त्यसपछि उत्पन्न पार्टीभित्रको आन्तरिक किचलो र पार्टी विभाजनको अवस्था आदिका कारण हामी लामो समयसम्म सङ्गठन सुदृढीकरण गर्ने काममा केन्द्रित हुन पाएनौं ।
यी चुनौतीलाई पार गर्दै गत वर्ष असोजदेखि मात्रै आधारभूत तहबाट शृङ्खलाबद्ध कमिटी निर्माण प्रक्रिया सुरु हुन सक्यो । समयाभाव र कमिटी निर्माणमा कतिपय असावधानीले गर्दा हाम्रा आधारभूत कमिटीहरु जुनस्तरमा जनतासँग जोडिन सक्नुपथ्र्यो, स्थितिको विश्लेषण र त्यसलाई पार्टीको पक्षमा रुपान्तरित गर्न जति सक्षम हुनुपथ्र्यो, कतिपय ठाउँमा त्यस्तो हुन सकेन । केही ठाउँमा त पार्टीले पाएको मत पार्टी सदस्यहरुभन्दा पनि कम रह्यो, एकाध ठाउँमा कमिटी सङ्ख्या जति पनि लोकप्रिय मत हासिल हुन नसकेको जस्ता विडम्बना देखाप¥यो । पार्टीको कमजोर सङ्गठनात्मक प्रणाली प्रतिकूल परिणामका लागि एउटा महत्वपूर्ण कारण बन्नपुग्यो ।
२. उमेद्वार छनौटमा पनि कतिपय ठाउँमा त्रुटिहरु हुनपुगे । लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उमेद्वार बनाउन जोड दिइँदा, पार्टीले तय गरेको प्रक्रिया र पद्धतिविपरीत खास व्यक्तिलाई उमेद्वार बनाउन या नबनाउनका लागि भएका सङ्गठित लबिङले पनि केही ठाउँको परिणाम प्रतिकूल हुनपुग्यो ।
३ यसपटक निर्वाचनमा विगत कहिल्यैको भन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरु देखापरे । आफू या आफूले सिफारिस गरेको व्यक्तिले उमेद्वारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उमेद्वारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरु देखापरे । यसमा पार्टीका कतिपय जिम्मेवार कार्यकर्ता नै सङ्लग्न भएको समेत देखियो । कैयौं पालिका र वडामा त पालिका प्रमुख या वडाअध्यक्षलाई निशाना बनाएर मत खाली राखेर या विपक्षीलाई दिएर हराउने काम समेत भयो । पार्टीभित्र पैदा भएको यसप्रकृतिका हानीकारक र आत्मघाती प्रवृत्तिले गर्दा हामीले कतिपय पालिका र वडा गुमाएका छौं ।
४. पटक–पटकका निर्वाचनमा सहभागी भएर पर्याप्त अनुभव हासिल गरेको भए पनि यस पटक हाम्रो निर्वाचन अभियानमा कमजोरी देखापरे । परिभाषित जिम्मेवारीसहित नेता–कार्यकर्ताहरुको समुचित विन्यास, प्रभावशाली र मतदाताको मन जित्ने खालको प्रचार शैली, प्रभावकारी मतदाता शिक्षा, मतदाताको घरदैलोमै पुगेर मन जित्ने प्रयास र धाँधलीका सूक्ष्म रुपको अध्ययन र त्यसको प्रतिवादजस्ता कतिपय विषयमा समेत हामी चुक्न पुग्यौं । मतदाता शिक्षामा गम्भीर हुने र जनताको घरदैलोमा पुग्नेभन्दा पनि बाहिरी र प्रचारात्मक चुनावी अभियानमा बढी केन्द्रित हुनाले बाञ्छित परिणाम ल्याउन सकेन ।
सारमा, गठबन्धनको सङ्ख्यात्मक पक्ष र यसले सिर्जना गरेको मनोविज्ञान, सत्ताको चरम दुरुपयोग र हाम्रा केही आन्तरिक कमजोरीका कारण हामीले अपेक्षित सिट जित्न सकेनौं । तर पनि प्रतिकूलताको बीचमा हामीले प्राप्त गरेको सफलता, उपलब्धी र सर्वोपरिरुपमा जनताको माया महत्वपूर्ण छ, जसको जगमा उभिएर हामीले आगामी निर्वाचनमा सफलता हासिल गर्नेछौं ।













प्रतिक्रिया दिनुहोस्