जनता टाइम्स

२७ असार २०७९, सोमबार १६:४४

गठबन्धनले अघि बढाएको अधोगतिमा ब्रेक नलाग्ने हो भने देश श्रीलंकाभन्दा तल पुग्नसक्छ : ओली


काठमाडौं, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताउनु भएको छ । गठबन्धनले मुलुकलाई श्रीलंकातिर लैजाने काम गरिरहेको भन्दै उहाँले सबैजना सतर्क हुनुपर्ने अवस्था आएको पनि बताउनु भयो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भन्नुभयो, ‘गठबन्धनले मुलुकलाई बर्वादीतिर धकेल्ने काम गरिरहेको छ ।’ अध्यक्ष ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको बताउनु भयो ।

‘बजेट निर्माणमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उहाँको भनाइ छ । कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको ओलीले बताउनु भयो ।

‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तिमा श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ,’ ओलीले भन्नुभयो ।